निकासी पैठारी संघ र चेम्बरबीच सहकार्यको प्रतिबद्धता: ‘चुनौतीभित्रै अवसर खोजेर लगानी बढाउने समय’

काठमाडौँ । नेपाल समुद्रपार निकासी पैठारी संघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीबीच मुलुकको वर्तमान व्यवसायिक अवस्था, आगामी सम्भावना र आपसी हितका विषयमा बृहत् छलफल भएको छ ।

बुधबार संघको सचिवालयमा आयोजित कार्यक्रममा दुवै संस्थाले निजी क्षेत्रको मनोबल उकास्न सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले मुलुकमा अहिले लगानीका लागि उपयुक्त अवसर आएको बताउँदै व्यवसायीहरूलाई आँट गर्न आग्रह गरे। “लगानी गर्ने भनेकै यस्तै चुनौतीपूर्ण समयमा हो । अहिले बैंकमा तरलता प्रशस्त छ र ब्याजदर पनि सस्तो छ,” अध्यक्ष अग्रवालले भने, “यो मौकाको सदुपयोग गरेर लगानी बढाउनेले भविष्यमा राम्रो प्रतिफल पाउँछन्।” उनले निजी क्षेत्रका अन्य संघसंस्थासँग हातेमाले गरेर अघि बढ्न चेम्बर सधैँ तयार रहेको समेत उल्लेख गरे।

निकासी पैठारी संघका अध्यक्ष शिवकुमार अग्रवालले चेम्बर र संघको लामो इतिहास रहेको चर्चा गर्दै दुवैका सरोकारका विषय समान भएकाले सहकार्य अनिवार्य रहेको बताए । “व्यवसायीहरूमा अन्योल छाएको अहिलेको अवस्थामा हामी सदस्यहरूको मनोबल उकास्न लागिपरेका छौँ,” उनले भने, “यस्तो बेला चेम्बरजस्तो प्रभावशाली संस्थाको साथले व्यवसायीहरूमा सकारात्मक ऊर्जा थपिनेछ ।”

छलफलमा चेम्बरका तर्फबाट मानार्थ उपाध्यक्ष अर्जुनप्रसाद शर्मा र उपाध्यक्ष सन्तोष पाण्डेको सहभागिता थियो भने संघका तर्फबाट कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले वर्तमान आर्थिक शिथिलताका बीच पनि नयाँ क्षेत्रमा लगानीको खोजी र व्यवसायिक विस्तारका सम्भावनाबारे धारणा राखेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै