
विश्वका वित्तीय संस्थाका प्रमुखहरूसँग भेटवार्ता, नेपालको आर्थिक प्राथमिकता प्रस्तुत
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रको विकास, ऊर्जा, पर्यटन, डिजिटल अर्थतन्त्र र पूर्वाधार जस्ता प्रमुख क्षेत्रमा लगानी आकर्षित गर्न बहुपक्षीय सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीमा हालै सम्पन्न विश्व बैंक वार्षिक बैठक २०२५ मा सहभागी भई विश्वका वित्तीय तथा विकास संस्थाका वरिष्ठ अधिकारीहरूसँगको भेटवार्ताका क्रममा अध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन् ।
नेपाल सरकारका अर्थमन्त्री रामेश्वर खनाल, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, अर्थ सचिव डा. घनश्याम उपाध्याय लगायतको उच्चपदस्थ अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलसँगै अध्यक्ष ढकाल बैठकमा सहभागी भएका थिए ।
उच्चस्तरीय भेटवार्ता र प्राथमिकताः
बैठकका क्रममा अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक समूह र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का वरिष्ठ प्रतिनिधिहरूसँग भेटवार्ता गरेका थिए । उनले नेपालका आर्थिक सम्भावना, वित्तीय क्षेत्रको सुदृढता, र दिगो लगानीका अवसरहरूबारे छलफल गरे ।
अध्यक्ष ढकालले बैठकको अनुभव सुनाउँदै भने, “विश्व बैंकको वार्षिक बैठकमा आफ्ना आर्थिक प्राथमिकताहरू र वैश्विक साझेदारीका विषयहरू सशक्त रूपमा प्रस्तुत भएका छन् । विश्व आर्थिक परिदृश्य, विकासका लागि वित्तीय स्रोत परिचालन र दिगो आर्थिक वृद्धिमा निजी क्षेत्रको भूमिकाबारे व्यापक छलफल भयो।”
सो अवसरमा उनले ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई) का प्रबन्ध निर्देशक नादाबा म्पोफु र युरोपियन सेन्ट्रल बैंक (ईसीबी) का अध्यक्ष क्रिस्टिन लगार्डसँग पनि भेट गरेका थिए ।
आर्थिक कूटनीति सुदृढ गर्ने विश्वासः
महासंघका अध्यक्ष ढकालले यस्ता अन्तर्राष्ट्रिय बैठकहरूमा निजी क्षेत्रको सहभागिताले नेपालको आर्थिक कूटनीति सुदृढ गर्न, वैदेशिक लगानी आकर्षित गर्न र बहुपक्षीय संस्थासँग सहकार्य बलियो बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।
महासंघका अनुसार, २५ औं वार्षिक बैठकमा नेपालको सहभागिताले दिगो आर्थिक वृद्धि र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँगको सम्बन्ध गहिरो बनाउने प्रतिबद्धतालाई जोड दिएको छ । यी छलफलहरूले सहकार्य र लगानी वृद्धि गर्ने नयाँ बाटो खोल्ने अपेक्षा गरिएको छ।
महासंघले यी बैठकहरू नेपालको आर्थिक प्राथमिकता प्रस्तुत गर्ने र अन्तर्राष्ट्रिय साझेदारी सुदृढ गर्ने दिशामा एक महत्वपूर्ण कदम स्थापित गरेको जनाएको छ ।