काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी आन्दोलन’ को क्रममा भएको क्षतिको जानकारी लिन आज प्रहरी प्रधान कार्यालयको भ्रमण गरेका छन्। सो अवसरमा उनले उच्च मनोबलका साथ राष्ट्र र जनताको हितमा काम गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री अर्यालले भने, “आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी इकाईको पुनःस्थापनामा समुदायले देखाएको सहयोगले प्रहरीको आवश्यकता र महत्व पुष्टि भएको छ । तपाईंहरू उच्च मनोबलका साथ जनताको हितमा काम गर्नुस् ।”
उनले कानुनअनुसार आफ्नो जिम्मेवारी पूरा गर्न प्रहरीलाई निर्देशन दिँदै नेपाल प्रहरीको काममा देखिएका कमीकमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने बताए । “तपाईंहरू कर्तव्यनिष्ठ र संयमित भएर आफ्नो जिम्मेवारी पालना गर्नुहुनेछ भन्ने विश्वास यो सरकारले लिएको छ,” उनले भने, “वर्तमान सरकार उच्च मनोबल भएका प्रहरी कर्मचारीको पक्षमा छ ।”
यसअघि, गृहमन्त्री अर्यालले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, प्रहरी वृत्त दरबारमार्ग र प्रहरी वृत्त महाराजगञ्जको क्षतिको पनि स्थलगत अनुगमन गरेका थिए । सो कार्यक्रममा नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख र इलाका प्रहरी कार्यालयका प्रमुख लगायतको भर्चुअल उपस्थिति रहेको थियो ।