काठमाडौँ । नेपाल उद्योग परिसंघले देशभर भएका आन्दोलन र प्रदर्शनका क्रममा भएको धनजनको क्षतिको विरोध गर्दै निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिसंघले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
आन्दोलनले लगानीकर्ता त्रसित, रोजगारी प्रभावित
परिसंघले आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी, तोडफोड र लुटपाटले उद्योगी–व्यवसायीलाई चिन्तित बनाएको जनाएको छ । यस्ता घटनाले लगानीकर्ता त्रसित भएको र धेरैको रोजगारीसमेत प्रभावित भएको परिसंघको भनाइ छ ।
यस प्रकारको असुरक्षाले स्वदेशी तथा विदेशी लगानीमा गम्भीर असर पर्ने भन्दै परिसंघले निजी क्षेत्रलाई निर्बाध रूपमा उद्योग–व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन आग्रह गरेको छ ।
अर्थतन्त्रको पुनरुत्थानमा चुनौती
परिसंघका अनुसार, कोभिड-१९ महामारी र त्यसपछिका नियामक प्रावधानका कारण विगत तीन वर्षदेखि अर्थतन्त्रले चुनौती सामना गरिरहेको छ । यस्तो अवस्थामा सहज रूपमा उद्योग व्यवसाय सञ्चालन हुन नसकेमा अर्थतन्त्रको चक्रमा नै असर पर्न सक्ने चेतावनी परिसंघले दिएको छ ।
राज्यको प्रमुख आयस्रोत निजी क्षेत्र भएकाले त्रासमुक्त वातावरणमा व्यवसाय गर्ने वातावरण सुनिश्चित गर्न परिसंघले आग्रह गरेको छ । साथै, आन्दोलनले क्षतिग्रस्त भएका संरचनाहरूको पुनर्निर्माणका लागि राज्यको स्रोतले मात्र पर्याप्त नहुने हुँदा सबै मिलेर अर्थतन्त्रलाई अगाडि बढाउनुपर्नेमा पनि परिसंघले जोड दिएको छ ।
युवाको चाहनालाई उच्च महत्त्व
परिसंघले सुशासन, भ्रष्टाचार निवारण र सार्वजनिक क्षेत्रमा पारदर्शिताको युवा पुस्ताको आकांक्षालाई उच्च महत्त्व दिएको जनाएको छ। युवाहरूको चाहनालाई मूर्तरूप दिई मुलुकलाई नयाँ चरणमा प्रवेश गराउन निजी क्षेत्रले सशक्त प्रयत्न गर्ने प्रतिबद्धता परिसंघको राष्ट्रिय परिषद् बैठकले गरेको जानकारी पनि गराएको छ।