
काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ सकिनै लाग्दा पनि विकास बजेट (पुँजीगत खर्च) आधा पनि खर्च हुन सकेको छैन । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार असार १८ गतेसम्म विनियोजित ३ खर्ब ५२ अर्ब रुपैयाँको विकास बजेटमध्ये जम्मा १ खर्ब ६४ अर्ब रुपैयाँ मात्र खर्च भएको छ ।
यो खर्च विनियोजन गरिएको कुल बजेटको ४६.५९ प्रतिशत मात्रै हो। गत आर्थिक वर्षको सोही अवधिसम्म (असार १८ गतेसम्म) पुँजीगत बजेट ४८.५७ प्रतिशत खर्च भइसकेको थियो, जसले यस वर्षको खर्च प्रगति अझ सुस्त रहेको देखाउँछ ।
नेपाली कांग्रेस र नेकपा एमालेको दुई तिहाइको सरकार हुँदा पनि विकासको गति अझै सुस्त रहेको यो तथ्याङ्कले स्पष्ट पार्छ। यद्यपि, चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको समग्र पक्ष हेर्ने हो भने कुल बजेटको करिब ७५ प्रतिशत खर्च भइसकेको छ ।
चालू आर्थिक वर्षका लागि सरकारले सुरुमा १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याएको थियो। तर, मध्यावधि समीक्षामार्फत तत्कालीन अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेटलाई वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करिब दुई खर्ब रुपैयाँले घटाउनुभएको थियो । सञ्चालन खर्च र ऋण भुक्तानीमा भार बढ्दै जाँदा विकास बजेट खुम्चिएको अवस्थामा सरकारले छुट्याएको रकमसमेत खर्च गर्न नसक्नु चिन्ताजनक रहेको विज्ञहरू बताउँछन् ।