नेपालको कृषि क्षेत्रमा परराष्ट्रमन्त्रीको बहुर्राष्ट्रिय कम्पनीहरूलाई एफडीआईका लागि आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी (FDI) भित्र्याउन विश्वका बहुराष्ट्रिय कम्पनीहरूलाई आग्रह गरेकी छिन् ।

राष्ट्रसङ्घीय कृषि तथा खाद्य सङ्गठन (FAO) को रोममा जारी ४४ औं महासभाअन्तर्गत कृषि तथा खाद्य प्रणालीसम्बन्धी उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनले नेपालका मौलिक एवं विशिष्ट कृषि उत्पादनहरू मार्फत विश्व बजारबाट लाभ लिन सकिने सम्भावनाबारे प्रकाश पारिन् ।

किन आवश्यक छ वैदेशिक लगानी र आधुनिकीकरण ?

मन्त्री डा. राणाले नेपाल सरकारले कृषिमा निजी क्षेत्रको संलग्नता बढाउने नीति लिएको र ठूला निजी कम्पनीहरूले लगानी गर्न थालेको बताइन् । यद्यपि, ठूलो लगानी र कृषिमा आधुनिकीकरणको अभावमा पर्याप्त सम्भावना हुँदाहुँदै पनि नेपालले वृहत् मात्रामा कृषि उपजहरू निर्यात गर्न नसकेको उनको भनाइ थियो। उनले यस क्षेत्रमा ठूलो वैदेशिक लगानीको आवश्यकता औंल्याइन् ।

उनले अन्तर्राष्ट्रिय सहयोग र सहकार्यबाट कृषि क्षेत्रलाई नवप्रवर्तन, कृषिमा एआईको प्रयोग, खेती गर्न ड्रोन आदि प्रविधिको प्रयोग गरी आधुनिकीकरण र वैज्ञानिकीकरणका साथ आकर्षक बनाउन नेपाल सरकार लागिपरेको जानकारी दिइन् ।

कृषि पेशाको मर्यादासम्बन्धी चिन्ता

मन्त्री डा. राणाले नेपालमा कृषि पेशा गर्ने व्यक्ति अर्थात् किसानलाई अहिले पनि हेय दृष्टिले हेर्ने गरिएकाले यस क्षेत्रको आधुनिकीकरण गरी समयानुकूल विकास गरेर निर्यातमुखी बनाउन नसकिएको बताइन्। उनले कृषिलाई मर्यादित र आकर्षक पेशा बनाउनुपर्नेमा जोड दिइन्।

संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको पूर्वसभापतिसमेत रहेकी मन्त्री राणाले आफ्नो अनुभव सुनाउँदै भनिन्, “कृषकहरूको सामाजिक छवि अहिले पनि बदल्न सकिएको छैन। म कृषि समितिको सभापति बन्दा पनि कतिपयले किन यो समिति रोजेको पनि भनेको सम्झना छ। तर मैले नै सो समिति रोजेकी थिएँ।” उनको यो भनाइले कृषि क्षेत्रको सामाजिक प्रतिष्ठा र यसमा गर्नुपर्ने सुधारको आवश्यकतालाई थप उजागर गरेको छ।

नेपालको कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याएर उत्पादन बढाउनुका साथै, आधुनिक प्रविधि र किसानको सामाजिक सम्मान बढाउनु अबको प्राथमिकता रहेको परराष्ट्रमन्त्रीको भनाइको सार थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै