
काठमाडौँ । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ, जसमध्ये प्रतिनिधिसभाको बैठकमा महत्वपूर्ण निजामती विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । यो विधेयक पारित भएपछि मुलुकमा प्रशासनिक संघीयता कार्यान्वयनमा देखिएका जटिलताहरू हट्ने अपेक्षा गरिएको छ ।
प्रतिनिधिसभामा निजामती विधेयकमाथि छलफल र पारित
प्रतिनिधिसभाको बैठक आज दिउँसो १:०० बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ। आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसअघि असार ३ गते नै यो विधेयक पारित गर्ने कार्यसूचीमा भए पनि अन्तिम समयमा रोकिएको थियो।
सांसदहरूले विधेयकमाथि आ-आफ्नो धारणा राखेपछि यो विधेयक प्रतिनिधिसभाबाट पारित हुनेछ। प्रतिनिधिसभाले पारित गरेपछि विधेयक राष्ट्रियसभामा पठाइनेछ। राष्ट्रियसभाले पनि पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएपछि सभामुखले प्रमाणीकरण गर्नुहुनेछ। सभामुखले प्रमाणीकरण गरेपश्चात् विधेयक राष्ट्रपतिसमक्ष पेस गरिनेछ र राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यो कानुनका रूपमा कार्यान्वयनमा आउनेछ।
राष्ट्रियसभाको बैठक र अन्य कार्यसूची
आजै राष्ट्रियसभाको बैठक पनि दिउँसो १२:१५ बजे बस्दैछ । राष्ट्रियसभाको सम्भावित कार्यसूचीअनुसार विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरूमध्ये १४ वटा मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि समूहीकृत रूपमा छलफल हुनेछ।
निजामती विधेयक पारित भएमा संघीय संरचनामा मुलुक गएको लामो समयपछि प्रशासनिक संघीयतालाई थप बलियो बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।