
काठमाडौँ । नेपाल आयल निगमले थानकोट डिपोबाट भएको तेल चोरी घटनाको छानबिन गर्न ४ सदस्यीय छानबिन समिति गठन गरेको छ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार, गुणस्तर नियन्त्रण तथा अनुगमन विभागका निर्देशक विधि श्रेष्ठको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिमा श्रेष्ठ बाहेक प्रशासन विभाग, आन्तरिक नियन्त्रण, र एलपिजी तथा एभिएसन विभागबाट एक-एक जना सदस्य रहेका छन् ।
यो समितिले थानकोट डिपोबाट भइरहेका तेल चोरीका घटनाहरू, विशेषगरी जेठ ३० गते २०८२ मा भएको पछिल्लो घटनाको विस्तृत छानबिन गर्नेछ ।
जेठ ३० गते थानकोट डिपोका अपरेसन अधिकृत गणेशराज जोशीको मिलेमतोमा ना. ४ ख ९४२२ नम्बरको ट्यांकरबाट थप ३०० लिटर तेल बाहिर पठाइएको थियो । उक्त ट्यांकरले सलम्बुदेवी आयल स्टोरका लागि २० हजार लिटर इन्धन ढुवानी गर्ने क्रममा बाटोमा रोकी च्याम्बरको मेनहोलबाट बाल्टिनमा तेल खन्याइरहेको अवस्थामा समातिएको थियो।
घटना सार्वजनिक भएपछि निगमको बागमती प्रादेशिक कार्यालय प्रमुख तथा थानकोट डिपो प्रमुख अशोक साहले उक्त ट्यांकरका धनी मंगल ढुवानी सेवालाई असार १ गते स्पष्टीकरण सोध्दै ढुवानी कार्यमा रोक लगाएका थिए । तर, आयल निगम स्रोतका अनुसार, डिपो प्रमुख र तेल डिस्प्याच गर्ने अधिकारीको संलग्नताविना यस्तो घटना हुनै सक्दैन ।
प्रादेशिक प्रमुख साहले भने आफू र अपरेसन अधिकृत जोशीलाई ‘बचाउन’ मंगल ढुवानी सेवालाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन पत्र लेखेको स्रोतको दाबी छ। स्पष्टीकरण पत्रमा ट्यांकर चालकले बाटोमा तेल चोरी गरेको उल्लेख छ र गैरकानुनी काम गर्ने चालकलाई किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण मागिएको छ।
निगममा विगतदेखि नै तेल चोरीका घटनाहरूमा ट्यांकर चालक र खलाँसीलाई मात्र कारबाही हुने गरेको र निगमकै संलग्न कर्मचारीहरू भने उम्किने गरेको पाइएको छ। यसरी चोरी भएको तेल ट्यांकर चालकले राजधानी र आसपासका पम्पहरूमा सस्तो मूल्यमा बेच्ने गरेको र त्यसबाट प्राप्त रकम निगमका उच्च तहका कर्मचारीहरूका भागमा समेत पुग्ने गरेको आरोप लाग्दै आएको छ।
नयाँ छानबिन समितिले यस पटक चोरीमा संलग्न कर्मचारीहरूलाई समेत कारबाहीको दायरामा ल्याउँछ वा छैन, त्यो भने हेर्न बाँकी छ।