असार १३ गते विद्यालय शिक्षा विधेयक पास गर्ने शिक्षा समितिको तयारी

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक असार १३ गते (पर्सी) पास गर्ने तयारी गरेको छ। यसका लागि भोलि (असार १३ गते) समितिको बैठक बोलाइएको छ।

समितिका सभापति अम्मरबहादुर थापाले अनलाइनखबरसँग कुरा गर्दै भने, “सकेसम्म भोलि, नभए पर्सी समितिबाट विधेयक पास गर्छौं।”

विधेयकका विवादित विषयमा सहमति जुटाउन आज दिनभर पनि परामर्श समन्वय उपसमितिको बैठक बसेको थियो। उक्त समितिले विवादित विषयहरूलाई साँघुरो बनाउँदै लगेको जनाएको छ।

अझै केही विषयमा टुङ्गो लाग्न बाँकी रहेकोले बिहीबार बिहान ८ बजे समन्वय उपसमितिको बैठक बोलाइएको छ। शिक्षा समितिका अनुसार, उपसमितिले मिल्न बाँकी विषय मिलाएर दिउँसो १ बजे समितिको पूर्ण बैठकमा पेस गर्ने तयारी छ।

सभापति थापाका अनुसार, यदि समिति सदस्यहरूबीच एकमत भएमा अब छलफलका धेरै विषय बाँकी छैनन्। “पर्सी (असार १३) सम्म पास गर्ने विषयमा माननीयहरूमा पनि भर पर्छ,” उनले भने।

विधेयकको प्रक्रिया र पेचिला मुद्दा

समितिबाट पास भएपछि यो विधेयक प्रतिनिधिसभामा जानेछ। प्रतिनिधिसभाले छलफल गरी पास गरेपछि राष्ट्रिय सभामा पुग्नेछ। राष्ट्रिय सभामा पनि प्रतिनिधिसभामा जस्तै संसदीय प्रक्रिया पूरा गरेर अगाडि बढ्नेछ।

राष्ट्रिय सभाबाट पास भएपछि पुनः प्रतिनिधिसभामा आउनेछ। राष्ट्रिय सभाले गरेका संशोधनलाई प्रतिनिधिसभाले स्वीकार गरेमा सभामुख हुँदै राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस गरिनेछ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक ऐनमा रूपान्तरित हुनेछ।

यस विधेयकमा निजी विद्यालयको व्यवस्थापन र सञ्चालन, प्रारम्भिक बाल विकास (ECD) र शिक्षकका माग मुद्दाहरू बढी पेचिला बनेका थिए।

गत वैशाख १७ गते शिक्षक महासंघसँग असार १५ गतेभित्र ऐन जारी गर्ने सहमति भएको थियो। शिक्षकहरूले ऐनको माग गर्दै चैत २० देखि २९ दिनसम्म शैक्षिक हड्तालसहितको आन्दोलन गरेका थिए।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै