आयात बढ्दा पनि भन्सार राजस्व लक्ष्य अनुसार उठ्न सकेन

काठमाडौँ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा आयात बढे पनि राजस्व भने लक्ष्य अनुसार संकलन हुन सकेको छैन ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयात १३।१५ प्रतिशतले बढ्दा पनि भन्सार राजस्व भने ६७.१ प्रतिशत मात्र पुगेको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख ८६ हजार रपैयाँको वस्तु तथा सेवा आयात हुँदा ४ खर्ब ४० अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन भएको छ । जुन लक्ष्यको ६७.१ प्रतिशत रहेको विभागले जनाएको छ ।

गत आर्थिक वर्षको सोहि अवधिमा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार रुपैयाँको वस्तु तथा सेवा आयात हुँदा ३ खर्ब ८६ अर्ब २४ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । जुन लक्ष्यको ६७.३ प्रतिशत थियो ।

गत आर्थिक वर्षको तुलानामा आयात २ खर्बले बढ्दा राजस्व ५४ अर्ब रुपैयाँ बढेको छ । सिमानामा हुने तस्करी लक्ष्य अनुसार राजस्व संकलन नहुनुको प्रमुख कारण भएको अर्थविद् कृष्णहरि बास्कोटाको भनाई छ । उनका अनुसार सिमानामा अवैध रुपमा माल वस्तुको आयात हँदा लक्ष्य अनुसार राजस्व उठ्न नसकेको हो । तर यता भन्सार विभागका प्रवक्ता किशोर बर्तौला चालु आर्थिक वर्षमा राजस्व छुट दिएका वस्तुको आयात बढी भएकोले राजस्व कम उठेको दाबी गर्छन् । वैदेशिक सहायताबाट संचालन भएको योजनामा आयात हुने रामग्रीहरु भन्सार छुुटमा आउने भएकोले आयात बढ्दा पनि राजस्व बढ्न नसकेको बर्तौलाको भनाई छ ।

चालु आर्थिक ११ महिनामा सरकारले ५ खर्ब ३१ अर्ब ३५ करोड रुपैयाँ भन्सार राजस्व उठाउने लक्ष्य राखेको थियो । बजेट निर्माण गर्ने समयमा एकदम चाप हुने भएकोले जीडीपीको अध्ययन नभएर हतारमा लक्ष्य राख्नु पनि लक्ष्य अनुसार राजस्व संकलन गर्न नसक्नुको कारण भएको बर्तौलाको भनाई छ ।

चालु आर्थिक वर्षको श्रावण महिनामा ४५ अर्ब ३६ करोड राजस्व उठाउने लक्ष्य राखिएकोमा ३४ अर्ब ६९ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको थियो । भाद्रमा ५० अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ३९ अर्ब ५८ करोड रुपैयाँ राजस्व उठ्दा असोजमा ४६ अर्ब ४७ करोड लक्ष्य राखिएकोमा ३८ अर्ब ८१ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको विभाको तथ्यांकमा उल्लेख गरिएको छ ।

यस्तै कार्तिकमा ४६ अर्ब ३५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य कायम गरिएकोमा ३३ अर्ब ८८ करोड रुपैयाँ मात्र राजस्व संकलन हुँदा मंसीरमा ४५ अर्ब ४९ करोड रुपैयाँ राजस्वको लक्ष्य रहेकोमा ३९ अर्ब ३३ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको थियो । यसैगरी पुषमा ४६ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ४० अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

माघ महिनामा पनि लक्ष्य अनुसार राजस्व उठ्न सकेको देखिदैन् । माघमा ४५ अर्ब २३ करोड रुपैयाँको लक्ष्य रहेकोमा ३९ अर्ब ३८ करोड रुपैयाँ मात्र राजस्व उठेको थियो भने फागुनमा ४९ अर्ब २६ करोडको लक्ष्य रहँदा ३८ अर्ब ९९ करोड रुपैयाँ मात्र राजस्व उठेको थियो । यस्तै चैतमा ५१ अर्ब ४८ करोड रुपैयाँको लक्ष्य राखिएकोमा ४१ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन हुँदा वैशाखमा ५० अर्ब २ करोड रुपैयाँ भन्सार राजस्वको लक्ष्य रहेकोमा ४३ अर्ब ९२ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ । यसैगरि जेठमा ५४ अर्ब ९७ करोड रुपैयाँको भन्सार राजस्वको लक्ष्य राखिएकोमा ४९ अर्ब ६२ करोड रुपैयाँ मात्र रानस्व संकलन भएको विभागले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै