
काठमाडौँ । होटल संघ नेपालले होटल क्षेत्रलाई विशेष उद्योगसरह कर्जाको साँवाव्याज भुक्तानी गर्न पाउने व्यवस्थाका लागि आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँगको भेटमा संघले मागको अनुपातमा होटेल रुमहरुको अत्यधिक आपूर्ति रही क्षमताको एक तिहाई मात्र माग रहेको स्मरण गराउँदै यस्तो माग गरेको हो ।
नियमित किस्ता र नियमित व्याज भुक्तान गर्न कठिनाई भएकोले व्यवसायको वित्तीय अवस्था अनुसार विशेष उद्योग सरह कर्जाको साँवा व्याज भुक्तानी गर्न पाउने व्यवस्थाका लागि संघले आग्रह गरेको छ । संघका अध्यक्ष विनायक शाहले पूर्वाधारहरुको उचित व्यवस्थापन हुन नसकेका कारण होटल व्यवसाय सञ्चालनमा प्रत्यक्ष तथा अप्रत्यक्ष खर्चमा भारी मात्रामा वृद्धि भएको बताए ।
अध्यक्ष शाहले नेपाल सरकारले होटल उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग, विशेष उद्योग सरहको छुट तथा उत्पादनमूलक उद्योग सरहको छुट तथा सुविधा प्रदान गरेको स्मरण गराउँदै मौद्रिक नीतिमा यसलाई सम्बोधन हुनुपर्ने माग राखे ।
होटललाई राष्ट्रिय महत्वको उद्योगको मान्यता दिएको हुँदा राष्ट्र बैंकले पनि विशेष प्राथमिकतामा राखेर प्रदान गरिने कर्जामा बेस रेटमा एक प्रतिशतभन्दा नबढ्ने गरी ब्याजदर कायम गरिनुपर्ने संघको माग छ । अध्यक्ष शाहले होटलको डलर खाता प्रयोग गर्न विभिन्न निकायहरुको अनुमति तथा सिफारिस प्राप्त गर्नूपर्ने र सो प्रक्रियामा समय लाग्ने गुनासो गरे ।
होटलहरुलाई भुक्तानी गर्न सहज हुने गरी, होटलको स्तर हेरी अमेरिकी डलर टपअपको दायरा विस्तार गर्दै होटलको नाममा प्रिपेड डलर कार्ड अथवा डलर क्रेटिड कार्ड उपलब्ध गराई दिँदा थप प्रभावकारी हुने उनको भनाइ छ ।
पर्यटकहरुले पाँच हजार अमेरिकी डलर साथमा ल्याउन पाउने व्यवस्था भएसँगै हालको प्रावधान अनुसार पर्यटकहरुले एक पटकमा अमेरिकी डलर ३ सय मात्र सटही गर्न पाउने भन्ने रहेको हुँदा ठूला तारे होटलहरुमा आउने खर्चालु पर्यटकहरुका लागि यो रकम अपर्याप्त भएकोले यसलाई बढाउन उनले आग्रह गरे ।
अधिकांश होटलहरुको देश विदेशबाट अनलाईन प्लाटफर्म मार्फत बुकिङ आउने स्मरण गराउँदै संघले बुकिङ प्लाटफर्मबाट भारतीय तथा नेपाली नागरिकहरुले बुकिङ गरेको खण्डमा बुकिङ वापतको रकमको भुक्तानी आ–आफ्नो मुद्रामा गर्ने गरेको तर उक्त प्लाटफर्मलाई कमिसन डलरबाट गर्नुपर्ने बाध्यता रहेको भन्दै यसको समाधानका लागि ध्यानाकर्षण गराएको छ ।
अध्यक्ष शाहले विशेष गरी नेपाली कम्पनीहरुले समेत विदेशमा शाखा विस्तार गरी होटलहरुको प्रवद्र्धन मार्फत समग्र पर्यटन उद्योगको प्रवद्र्धन तथा विकास हुने मात्र नभई मुलुककै पर्यटन प्रवद्र्धन हुने भएकोले ती कम्पनीहरुका लागि विदेशी मुद्रा कारोबारका लागि स्वीकृति दिनुपर्ने बताए।
क्षेत्रीय पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने खालका नीति जस्तै सार्क सदस्य राष्ट्र बंगलादेश र श्रीलंकाबाट नेपाल भ्रमणमा अत्यधिक माग बढेको क्रममा त्यहाँबाट नेपाल आउने पर्यटकहरुले बंगलादेशी टाका तथा श्रीलंकाली रुपैयाँमा समेत भुक्तानी गर्न सक्ने व्यवस्थाको माग संघले गरेको छ ।
भुक्तानी प्रणाली सहज भएमा ति देशहरुबाट आउने पर्यटकहरुको संख्या दोब्बर वृद्धि हुने हुँदा परिवर्त्य मुद्रा स्वीकार गर्ने नीति लागू गरी मुलुक पर्यटनमैत्री भएको सन्देश प्रवाह गर्नका लागि पनि अध्यक्ष शाहले आग्रह गरे ।
शाहले नेपाल सरकारले पर्यापर्यटनमा आधारित होटल तथा रिसोर्टलाई समेत राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता दिएको साथै नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटले समेत हरित पर्यटनको बढावा गरी कार्बन उत्सर्जन न्यूनीकरण गर्दै दिगो विकासको लक्ष्य हासिल गर्न होटलहरुमा प्रयोग हुने विद्युतीय सवारी तथा भान्सामा प्रयोग हुने विद्युतीय उपकरणलाई समेत प्रतिस्पर्धी बनाउन आयातमा सस्तो व्याजदरमा ऋण प्रवाहका लागि पनि अनुरोध गरेका छन् ।
पर्यटन विभागमा वातावरण प्रभाव मूल्यांकनविना दर्ता नवीकरण नभई नेपाल राष्ट्र बैंकबाट उपलब्ध हुने विदेशी विनिमय इजाजत नपाउने अवस्था छ । कतिपय तारे होटलहरु पर्यटन विभागमा नवीकरण हुन नसक्दा पनि नेपाल राष्ट्र बैंकबाट समेत विदेशी विनिमय इजाजत लिनबाट वञ्चित रहेको स्मरण गराउँदै यसमा लचिलो नीतिको माग गरिएको छ ।
साइबर सेक्युरिटीको विषय गम्भीर र जोखिमपूर्ण रहेको हुँदा बैंकहरुले होटलहरुसँगको सहकार्यमा सहज र बलियो बनाउनु पर्ने भन्दै विदेशी पर्यटकहरुले नेपालको अनलाइन भिषा प्राप्त गर्न फारम मात्र भर्न पाउने तर विदेशी मुद्रामा भुक्तानी गर्न नसक्ने स्थिति रहेको भन्दै गर्भनरको ध्यानाकर्षण गराइएको थियो ।
छलफलमा गभर्नर डा. पौडेलले सकारात्मक आश्वासन दिएको होटल संघ नेपालले जनाएको छ ।