सुवास अमात्यले डेढ अर्बमा किने भैरहवाको पवन प्यालेस, हलुवाई अब मिठाईमै केन्द्रित

काठमाडौँ । ऊर्जा व्यवसायी सुवास अमात्यले भैरहवाको पाँचतारे होटल पवन प्यालेस खरिद गरेका छन् । होटलको सम्पूर्ण स्वामित्व लिएका सुवास अमात्य ऊर्जा, हेलिकप्टर तथा इन्स्योरेन्स क्षेत्रका स्थापित व्यवसायी हुन्। उनी रिभरफल्स पावर लिमिटेडका अध्यक्ष पनि हुन् ।

पवन ग्रुप अफ होटल्सले निर्माण गरेको यो होटल अमात्यले करिब डेढ अर्ब रुपैयाँमा सम्पूर्ण स्वामित्वसहित खरिद गरेका हुन् । यस खरिदसँगै अमात्यले कुमारी बैंकमा रहेको १ अर्ब ५० करोड रुपैयाँको ऋण दायित्वसमेत सकार्ने सर्त स्वीकार गरेका छन् ।

भैरहवामा पेडा बिक्री गरेर चर्चा कमाएका पवन मिष्ठान्न भण्डारका सञ्चालक पवन हलुवाईले निर्माण गरेको उक्त होटल विगत डेढ वर्षदेखि बिक्रीको प्रयासमा थियो । होटलको सम्पूर्ण स्वामित्व अमात्यलाई हस्तान्तरण गरेपछि हलुवाईले अब पवनको पेडा व्यापारमै केन्द्रित हुने र मिष्ठान्न भण्डारलाई अझ राम्रोसँग सञ्चालन गर्ने बताएका छन् ।

१४७ वटा कोठा रहेको पवन प्यालेस पाँचतारे स्तरको होटल हो । काठमाडौं बाहिर ८० कोठाभन्दा बढी क्षमताका होटलहरू पाँचतारे वर्गीकरणमा पर्छन्। भैरहवा–लुम्बिनी सडकमा रहेको यो होटल करिब तीन बिघा क्षेत्रफलमा फैलिएको छ । करिब २ अर्ब रुपैयाँ लगानीमा बनेको यो होटल २०७५ सालदेखि सञ्चालनमा आएको थियो ।

पवन हलुवाईले राजीव बेरिवालसँगको सहकार्यमा पवन प्यालेस सञ्चालनमा ल्याएका थिए । बेरिवाल भैरहवामै प्लाइउड र सिसा उद्योग सञ्चालन गर्दै आएका व्यवसायी हुन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै