
काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष तथा आरएमसी ग्रुपका कार्यकारी अध्यक्ष राजेशकुमार अग्रवालबीच ‘श्रवणकुमार अग्रवाल नाफिज फेलोसिप’ स्थापनाका लागि एक ऐतिहासिक सम्झौता भएको छ। यस सम्झौताअनुसार आर्थिक पत्रकारिताको प्रवर्द्धनका लागि ७ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिनेछ।
मंगलबार नाफिजकी अध्यक्ष मेनुका कार्की र अग्रवालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। यो अक्षयकोष राजेशकुमार अग्रवालले आफ्ना स्वर्गीय पिता श्रवणकुमार अग्रवालको स्मृतिमा स्थापना गरेका हुन्, जसको घोषणा उनले गत मंसिर २९ गते सम्पन्न नाफिजको १५औँ वार्षिक साधारणसभामा गरेका थिए । गत साउनमा निधन भएका श्रवणकुमार आरएमसी ग्रुपका संस्थापकका साथै मारवाडी सेवा समितिका पूर्वअध्यक्ष र संविधानसभा सदस्यसमेत थिए ।
नाफिजमा फेलोसिप प्रदान गर्नका लागि स्थापना भएको यो नै पहिलो अक्षयकोष हो। समझदारीअनुसार, अग्रवालले व्यक्तिगत रूपमा अक्षयकोषमा ७ लाख रुपैयाँ जम्मा गर्नेछन्। उक्त कोषबाट नाफिजले वार्षिक रूपमा एक जना आर्थिक पत्रकारलाई ५० हजार रुपैयाँ बराबरको फेलोसिप प्रदान गर्नेछ ।
यो फेलोसिप विशेषगरी खोजमूलक आर्थिक समाचार लेखनका लागि प्रदान गरिनेछ। फेलोसिप प्राप्त गर्ने पत्रकारलाई नाफिजले मेन्टर पनि उपलब्ध गराउनेछ। फेलोसिपका लागि पत्रकार छनोट गर्न तीन सदस्यीय समिति गठन गरिने नाफिजले जनाएको छ ।
नाफिजकी अध्यक्ष कार्कीका अनुसार, आवश्यक प्रक्रिया पूरा गरी आर्थिक वर्ष २०८२/८३ देखि यो फेलोसिप कार्यान्वयनमा ल्याइनेछ। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले यस कदमले आर्थिक पत्रकारहरूलाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरेका छन् ।