वितरणमुखी बजेटले समृद्धि सम्भव छैन : डा. प्रकाशशरण महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले वितरणमुखी बजेटबाट दीर्घकालीन समृद्धि हासिल नहुने बताएका छन्। दिगो आर्थिक रुपान्तरणका लागि योजनाबद्ध ढंगले अघि बढ्नुपर्नेमा उनले जोड दिएका हुन्।

नेपाल प्रेस युनियन बागलुङद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतले आम्दानी बढाउने संरचनात्मक योजनाहरूमा लगानीको आवश्यकता औंल्याए। “बजेटमाथि गम्भीर छलफल भए कार्यान्वयन सजिलो हुन्छ,” उनले भने, “तर वितरणमुखी शैलीबाट समृद्धि सम्भव छैन।”

लोकप्रियताका लागि ल्याइने योजनाहरू प्रभावहीन हुँदा जनतामा निराशा फैलिने खतरा हुने उल्लेख गर्दै उनले दिगोपनामा प्राथमिकता दिनुपर्ने बताए। कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गजस्ता पूर्वाधारले आर्थिक रुपान्तरणमा ठूलो योगदान दिन सक्ने उनको भनाइ थियो।

साथै, उनले संसद् अनावश्यक रूपमा अवरुद्ध गर्ने अभ्यासको अन्त्य गर्नुपर्नेमा पनि जोड दिए।

पार्टीको आगामी महाधिवेशन मंसिरमै सम्भव देखिँदैन भन्दै उनले कार्यतालिका पुनः विचार गरिनुपर्ने धारणा राखे। भिजिट भिसा प्रकरणमा कर्मचारी मुछिएको विषयमा टिप्पणी गर्दै उनले गृहमन्त्रीको राजीनामा आवश्यक नरहेको दाबी गरे।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै