
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका व्यवसायहरूमा गरेको अनुगमनमा दुई फर्मलाई आर्थिक जरिवाना गरेको छ भने अन्य ११ व्यवसायलाई स्पष्टिकरणका लागि बोलाएको छ ।
सोमबार गरिएको अनुगमनमा बस्नेत इलेक्ट्रोनिक्स सेन्टर (काठमाडौं–२६) र भरत ट्रेड प्रा. लि. लाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) बमोजिमको कसुर र सोही ऐनको दफा ३९ को उपदफा १ (ख) अनुसार दोषी ठहर गर्दै २ लाख ५ हजार रुपैयाँ बराबरको जरिवाना गरिएको हो ।
विभागका अनुसार यी फर्महरू उपभोक्तालाई ठग्ने, प्रामाणिक विवरण नपेस गर्ने, वा म्याद नाघेका वस्तु बिक्री गर्ने जस्ता गम्भीर लापरवाहीमा संलग्न पाइएका थिए ।
स्पष्टिकरणको लागि निर्देशन पाएका व्यवसायहरू:-
अनुगमनमा थप ११ वटा व्यवसायलाई पनि अनियमितता देखिएकाले तीन दिनभित्र सम्बन्धित सबै कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। ती व्यवसायहरू यसप्रकार छन्:-
जिन्स प्यालेस (काठमाडौं–२५)
जि. जि. सप्लायर्स, एस. एम. फेशन स्टाइल, मा अम्बे रेडिमेड स्टोर, जय श्री पदमावती इन्टरप्राइजेज (सभी काठमाडौँ –२४)
सान्भी इम्पेक्स, न्यू फेशन भाइब्स, नारी फेशन, आहाना कलेक्सन प्रा. लि., मिस फेशन क्रियसन प्रा. लि., पि. एस. इन्टरप्राइजेज (सभी काठमाडौं–२२)
विभागका अनुसार ती व्यवसायमा बिल नदिने, मूल्यसूची नटाँस्ने, ब्रान्ड र म्यादको स्पष्टता नहुने लगायतका समस्या देखिएका थिए ।
नियम विपरीत क्रियाकलापमा कडाइ
विभागले उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ अनुसार बजार अनुगमन तीव्र बनाउँदै आएको छ। विभागका अनुसार उपभोक्ताको हित रक्षा गर्न यस्ता अनुगमन नियमित रूपमा अगाडि बढाइनेछ ।