
काठमाडौँ । काठमाडौं महानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिहरूको नाममा सामाजिक सुरक्षा भत्ता वितरण भएको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले हालै सम्पन्न गरेको लेखापरीक्षणमा सो खुलासा भएको हो।
महालेखाले नमूना छनौट गरी काठमाडौं महानगरभित्रका विभिन्न वडा कार्यालयको अभिलेख परीक्षण गर्दा मृत्यु भइसकेका लाभग्राहीहरूको नाममा समेत सामाजिक सुरक्षा भत्ता वितरित गरिएको फेला परेको हो।
विभिन्न वडामा मृतकलाई भत्ता
लेखापरीक्षण प्रतिवेदन अनुसार, वडा नं. १ मा मोतिहिरा तुलाधर, श्यामबहादुर खड्गी र धनकुमारी मानन्धरको नाममा मृत्यु भइसके पनि सामाजिक सुरक्षा भत्ता वितरण जारी रहेको देखिएको छ ।
त्यस्तै, वडा नं. २ मा हरिदेवी महर्जन, वडा नं. ३ मा मिठू मगर, महेन्द्रजंग रायमाझी क्षेत्री, सन्तुमाया महर्जन, श्यामबहादुर श्रेष्ठ, राधादेवी अधिकारी, दावा डोल्मा लामा, विष्णुलाल श्रेष्ठ र मीनबहादुर मगरको नाममा समेत मृत्यु पछि भत्ता वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ ।
वडा नं. ४ मा मनोरमा कुमारी राना, वडा नं. ८ मा लक्ष्मीप्रसाद भट्टराई, वडा नं. १० मा भगवती खनाल, गजेन्द्रबहादुर थापा र रमेशचन्द्र शर्माको नाममा पनि मृत्युपछि सामाजिक सुरक्षा भत्ता गएकाे पाइएको हो ।
वडा कार्यालयको कमजोरी
समाजिक सुरक्षा भत्ता वितरणमा वडा कार्यालयको मुख्य भूमिका हुने भए पनि मृत्यु जानकारी समयमै अद्यावधिक नगर्ने र अनुगमन नगर्ने प्रवृत्तिका कारण यस्तो अवस्था आएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
मृत्युपछि सम्बन्धित व्यक्तिको नाममा भत्ता वितरण हुनु प्रणालीगत कमजोरी र जवाफदेहिताको अभाव को संकेत भएको प्रतिवेदनमा भनिएको छ।
भविष्यमा सुधारको सिफारिस
महालेखापरीक्षकको कार्यालयले मृतक लाभग्राहीको भत्ता तत्काल रोक्न, नियमित डेटा अद्यावधिक गर्न, वडा कार्यालयमा निगरानी प्रक्रिया सुदृढ बनाउन र जिम्मेवार कर्मचारीमाथि कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस गरेको छ।