
अस्ट्रेलियामा सर्भर राखेर नेपालमा कर छली, सात जनाविरुद्ध १ अर्ब ३६ करोडको मुद्दा
काठमाडौँ । कर छली गरेको आरोपमा सरकारले नेपाल क्यान मुभ प्रालि र यसका सञ्चालकहरू विरुद्ध १ अर्ब ३६ करोड ८८ लाख ११ हजार रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको छ। राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (भ्याट) आय विवरणमा नदेखाई बिक्री आय लुकाएको तथा ठूलो परिमाणमा मूल्य अभिवृद्धि कर र आयकर छली गरेको आरोपमा यो मुद्दा दर्ता गरेको हो।
विभागका अनुसार, क्यान मुभले ६८ करोड ४४ लाख रुपैयाँ कर छलेको र सोही बराबरको जरिवानासहित कुल १ अर्ब ३६ करोड ८८ लाख ११ हजार रुपैयाँको माग दाबी गरिएको छ।
मुद्दा दायर गरिएका व्यक्ति तथा कम्पनी
राजस्व चुहावटको कसुरमा आइतबार मुद्दा दायर गरिएकामा नेपाल क्यान मुभ प्रालि, नेपाल क्यान ग्रुप प्रालिका शेयरधनी सञ्चालकहरू सुदिप आचार्य, जीवन ज्ञवाली, गंगा बहादुर थापा, मनिष प्रसाद आचार्य, मिठु पौडेल र प्रालिका उप-कार्यकारी निर्देशक संगम पौडेल रहेका छन्।
कसरी भयो कर छली ?
काठमाडौँ महानगरपालिका वडा नं. ३२, तीनकुनेस्थित नेपाल क्यान मुभ प्रालिले आफ्नो व्यावसायिक कारोबारका लागि प्रयोगमा ल्याएको अनलाइन प्रणालीमार्फत राजस्व छली गरेको विभागले जनाएको छ ।
विभागले अनलाइन प्रणाली नियन्त्रणमा लिई प्रालिको आर्थिक वर्ष २०७६/७७ देखि आर्थिक वर्ष २०८१/८२ को फागुन महिनासम्मको कारोबार खुल्ने ट्रायल ब्यालेन्स लगायतका महत्त्वपूर्ण कागजात तथा प्रमाणहरू बरामद गरी अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा प्रालिले उक्त पोर्टलको सर्भर अष्ट्रेलियामा राखी सेवा बिक्रीको ठूलो कारोबार आन्तरिक राजस्व विभागमा पेश गरेको विवरणमा नदेखाई बिक्री आय लुकाई छिपाई ठूलो परिमाणमा मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको विभागको दाबी छ । नेपालको कर प्रशासनको निगरानी छल्न उक्त पोर्टलको सर्भर अष्ट्रेलियामा राखी नेपालमा सेवा बिक्री लुकाउने कार्य गरेको पाइएको छ ।
अनुसन्धानको क्रममा प्रालिको अधिकांश शेयर स्वामित्व भएका प्रतिवादीहरू सुदिप आचार्य (५५.३३ प्रतिशत) र जीवन ज्ञवाली (१६ प्रतिशत) विभागले पटकपटक ताकेता गर्दा समेत उपस्थित नभई फरार रहेका थिए । सेवा बिक्रीलाई तोडमोड गरी म्यानुअल तरिकाले बिलिङ गरी वास्तविक बिक्री कारोबार लुकाएको आधारमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम मुद्दा दायर गरिएको हो ।