
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी सहजीकरण र औपचारिक अर्थतन्त्रको विस्तारमा उल्लेख्य सुधार भएको बताएका छन् ।
स्वीट्जरल्याण्डको जिनेभामा जारी ११३औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै ढकालले नेपालले पछिल्ला दिनमा गरेका नीतिगत सुधार र लगानीका अवसरबारे विश्व समुदायलाई जानकारी गराए ।
सम्मेलनमा रोजगारदाताहरूको तर्फबाट सोमबार सम्बोधन गरेका ढकालले लगानीका लागि भएका कानुनी सुधार र नेपालका आकर्षक अवसरबारे प्रकाश पारे । विश्वका करिब १८७ मुलुकका सरकार, रोजगारदाता एवं ट्रेड युनियनका प्रतिनिधिहरू सहभागी यस सम्मेलनमा अध्यक्ष ढकालले नीतिगत सुधारसँगै नेपालको भौगर्भिक विविधता र भौगोलिक अवस्थितिले लगानीको पर्याप्त सम्भावना रहेको जानकारी गराए ।
लगानीका लागि कानुनमा व्यापक सुधार
महासंघको पहलमा करिब ३० वटा लगानीसम्बद्ध कानुनमा परिमार्जन गरिएको र द्विपक्षीय लगानी सम्झौताको खाका तयार भएको ढकालले बताए । उनले सम्मेलनमा सहभागी सबैलाई नेपालमा अवसर खोज्न आग्रह गर्दै भने, “नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको छ, तर पनि भारत चीन लगायतका मुलुकमा नेपाली उत्पादनको भन्साररहित सुविधा कायमै रहने हुँदा नेपालमा थप अवसर कायमै रहने छ।”
ढकालले नेपालको भौगोलिक अवस्थितिका कारण कृषिजन्य उत्पादन, जलविद्युत् र पर्यटन क्षेत्रमा लगानीको प्रचुर सम्भावना र अवसर रहेको पनि औँल्याए ।
औपचारिक अर्थतन्त्रमा आईएलओबाट प्रशंसा
नेपालको अर्थतन्त्रको औपचारिकीकरणका लागि भइरहेका प्रयासहरूको विश्व मञ्चमा प्रशंसा भएकोमा अध्यक्ष ढकालले खुसी व्यक्त गरे। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले औपचारिक अर्थतन्त्र विस्तारका लागि नवीन सोचसहित काम गरेकोमा नेपाल, जिम्बाब्वे, कोटे डी आइभोर, उरुग्वे र नामिबियाको प्रशंसा गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ ।
अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रको औपचारिकीकरणका लागि महासंघ, ट्रेड युनियन र सरकारले समिति बनाएर काम गरिरहेको जानकारी दिए। उनले प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र जलवायु वित्तमा अन्तर्राष्ट्रिय सहभागिताका लागि पनि आग्रह गरे ।
जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय सहकार्यको आह्वान
हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नभए पनि हिमाल पग्लिँदै गएको र हिमाल संरक्षणमा नेपालले खेलेको भूमिकाबारे ढकालले विश्व समुदायको ध्यानाकर्षण गराए। उनले पहाडी र टापु राष्ट्रहरूका लागि बजार पहुँच, वित्तीय सहायता र विकास सहयोगमा विशेष समर्थनको आवश्यकतामा जोड दिए ।
महासंघ सम्मानजनक रोजगारी सिर्जना र आर्थिक वृद्धिप्रति प्रतिबद्ध रहेको बताउँदै ढकालले लगानीकर्ताहरूलाई सहयोग गर्न एफडीआई सहायता डेस्क स्थापना गरिएको र कामदारहरूसँग द्विपक्षीय सहकार्य सुदृढ गर्न समझदारीपत्रमा हस्ताक्षर गरिएको पनि जानकारी गराए। उनले नेपाल र विश्वका लागि राम्रो आर्थिक भविष्य निर्माण गर्न महासंघ विश्वव्यापी साझेदारहरूसँग काम गर्न तयार रहेको पनि उल्लेख गरे ।