‘सेटिङको मान्छे’ भन्दै मेयरको अस्वीकार: विराटनगरमा प्रमुख प्रशासकीय नियुक्ति अलमलमा

५० दिनदेखि हाजिरविहीन विराटनगर: मेयरको अडानले रोकिए सहसचिव मेहता

विराटनगर । सहसचिव रामचरित्र मेहता ५० दिनअघि विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएर आए पनि अझै हाजिर हुन पाएका छैनन्। मेयर नागेश कोइरालाको असहमतिको कारण उनले कार्यालयमा हाजिर गर्ने अनुमति पाएका छैनन् ।

मेयर कोइरालासँगै उपमेयर शिल्पा निराला कार्कीले पनि मेहताविरुद्ध मोर्चा सम्हालेकी छन्। जनप्रतिनिधि र कर्मचारीहरूको सहयोगमा मेहतालाई हाजिर हुन रोकिँदा विराटनगर हाल प्रमुख प्रशासकीयविहीन बनेको छ। महानगर कायममुकामका भरमा सञ्चालन भइरहेको छ ।

यद्यपि, मेहताको विगत विवादरहित छैन । इटहरी उपमहानगरमा विवादित बनेपछि उनको सरुवा भएको थियो। त्यसको अढाई महिनामै उनी विराटनगरमा सरुवा भएका हुन्। विराटनगर कोशी प्रदेशको एकमात्र महानगर हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार वैशाख ९ गते ४७ जना सहसचिवको सरुवा गरेको थियो। त्यही सूचीअनुसार मेहता विराटनगर पठाइएका थिए । तर, बुधबारसम्म ५० दिन पुग्दा पनि उनी हाजिर हुन पाएका छैनन् ।

मेयर कोइरालाले मन्त्रालयले स्थानीय सरकारसँग समन्वय नगरी प्रमुख प्रशासकीय पठाएकाले स्वीकार गर्न नसकिने बताएका छन्। ‘सेटिङमा पठाइएको व्यक्तिलाई हामी चुपचाप स्वीकार्न सक्दैनौं,’ उनले अघिल्लो वार्तालापमा अन्नपूर्णसँग भनेका थिए ।

इटहरीमा कार्यरत रहँदा मेहता विवादमा तानिएका थिए। मेयर हेमकर्ण पौडेलसँग मिलेर कर्मचारी झगडा, अनियमित सरुवा, आन्दोलन उक्साउने, वडाहरूको सर्भर डाउन गराउने, पोशाक तथा विद्युतीय बस खरिदमा कमिसन लिएकोजस्ता आरोप उनीमाथि छन्। उपमेयर संगीताकुमारी चौधरीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले उनीमाथि कारबाहीको सिफारिससमेत गरेको थियो ।

२०७० सालमा शिक्षा समूहबाट सहसचिवमा बढुवा भएका मेहता २०६० सालमा मधेसी कोटाबाट नाम निकालेर प्रशासन सेवामा प्रवेश गरेका थिए ।

मेहता अहिले युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत छन्। उनले भनेका छन्, ‘मेयर आफैंले फोन गरेर हाजिर गराउन सक्दिनँ, नआउनु भनेपछि म जान सकेको छैन ।’

उनको भनाइअनुसार, मेयरको असहमति र द्वन्द्व निम्त्याउने सम्भावनाका कारण आफैंले हाजिर नगर्ने निर्णय गरेका हुन्।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै