नवलपुर । पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखि नै घुइँचो लागेको छ । भक्तजनको सुविधालाई ध्यानमा राख्दै नवलपुरको गैँडाकोटबाट देवघाट बेनीसम्म जानका लागि निःशुल्क डुङ्गा (र्याफ्टिङ) को व्यवस्था गरिएको छ ।
निःशुल्क डुङ्गा र छोटो मार्ग
गैँडाकोट नगरपालिका वडा नं. ३ का वडाध्यक्ष एवं प्रवक्ता शिवकान्त तिवारीका अनुसार कालीगण्डकी नदीको केलादीघाटबाट बेनी सङ्गम पुग्न निःशुल्क र्याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको हो । “नवलपुर र पश्चिमतर्फबाट आउने तीर्थालुका लागि नारायणगढ हुँदै देवघाट जानु भन्दा गैँडाकोटको बाटो प्रयोग गर्नु निकै छोटो र सहज हुन्छ,” वडाध्यक्ष तिवारीले भने ।
कसरी पुग्ने ?
नवलपुरतर्फबाट देवघाट पुग्न गैँडाकोटको पुलचोक हुँदै शिलान्यास चोक, ब्रिटिस क्याम्प वा कालीगण्डकी करिडोरको बाटो प्रयोग गर्न सकिन्छ । जुक्तिखोलामा पक्की पुल बनेपछि पुलचोकबाट करिब २० मिनेटको सवारी यात्रामा केलादीघाट पुग्न सकिन्छ।
चितवनतर्फबाट देवघाट पुग्न १० किलोमिटरभन्दा बढी यात्रा गर्नुपर्नेमा नवलपुरतर्फबाट करिब ५ किलोमिटरमै पुग्न सकिने वडा कार्यालयले जनाएको छ ।
सुरक्षा र व्यवस्थापन
भक्तजनको सुरक्षाका लागि केलादीघाटमा सुरक्षित स्नानघाट समेत निर्माण गरिएको छ । केलादीघाटबाट बेनी जान डुङ्गाको भाडा वडा कार्यालयले नै बेहोर्ने गरी सञ्चालकसँग सम्झौता गरिएको छ, जसले गर्दा तीर्थालुले कुनै शुल्क तिर्नुपर्ने छैन ।
मकर स्नान सुरु
मुक्तिनाथबाट बग्दै आएकी कालीगण्डकी र गोसाइँकुण्डबाट आएकी त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा आज बिहान बाँसको लिङ्गो गाडेपछि विधिवत् रूपमा मकर स्नान सुरु भएको छ । माघे सङ्क्रान्तिको अवसरमा यहाँ लाखौँ भक्तजनको उपस्थिति रहने गर्दछ ।