काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ। येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो। नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन्।
ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको बताइन्छ । यसको आलोचना गर्नेहरूले सोही आधारमा पात्रो वैज्ञानिक नभएको समेत भन्ने गरेका छन् । विभिन्न संवत्को अध्ययन अनुसन्धानमा लागेका डा. शास्त्रदत्त पन्तले सौरमास र चन्द्रमासको समन्वयबाट वैदिककालदेखि नै सुरु भएको विसं जति वैज्ञानिक नभए पनि हाल इस्वी सन्को प्रभाव विश्वव्यापी बन्दै गएको बताए ।
३६५ दिन ६ घण्टा ४९ मिनेट ६ सेकेन्डको एक वर्ष हुन्छ, तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेन्डको एकाइले गणनामा असर पर्ने भएकाले उल्लेख गरिँदैन । त्यसको व्यवस्थापनका लागि विसंका आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ ।
इस्वी सन् अनुसारको पात्रोमा ‘लिपियर’ का रूपमा त्यसलाई व्यवस्थापन गर्न खोजे पनि पश्चिमा देशमै मतैक्यता हुन नसकेको डा. पन्तले बताए । पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ । नयाँ वर्ष २०२६ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौँको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ।
अङ्ग्रेजी नयाँवर्ष २०२६ को पहिलो दिन ‘ नेपालमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नुका साथै मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित १३औ टोपी दिवश मनाउन लागिएको हो।
मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेका थिए । नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन्। नेपाली टोपीको साइनो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।
विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ-आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन्। यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन्। यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले बिगतका बर्षहरुमा झै यो बर्ष पनि बिशेष कार्यक्रम सहित १३औं राष्ट्रिय पोशाक तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउने जानकारी दिएको छ । आज बिहान ८ बजेदेखि पन्चेबाजासहित बसन्तपुर दरबार क्षेत्रमा प्रभातफेरि गर्ने प्रतिष्ठानले जनाएको छ । त्यस्तै आज दिउँसो २ बजेदेखि ५ बजेसम्म नेपाल पर्यटन बोर्डको सभाहलमा देशला विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका व्यक्तित्वहरुलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको संस्थापक तथा कार्यक्रमका अध्यक्ष राजानन्द माण्डव्यले जानकारी दिएका छन् । पोस्ट