तिहारको तेस्रो दिन नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मी पूजा मनाइँदै

कुकुरलाई पूजा गरी नरकको डरबाट मुक्ति र साँझ धनकी देवी लक्ष्मीको आराधना

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज सोमबार घरघरमा कुकुर तिहार, नरक चतुर्दशी तथा साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा (सुखरात्री) मनाइँदैछ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, तिथिको घटबढका कारण यस वर्ष कुकुर तिहार यमपञ्चकको दोस्रो दिनमा नपरी तेस्रो दिन पर्न गएको हो । समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार नरक चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी तिथि भएको दिन मनाउनुपर्छ ।

कुकुर तिहारः

आजका दिन कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइन्छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक, सुरक्षामा भरपर्दो र वैवस्वतः मन्वन्तरको कुलमा जन्मेको मानिन्छ, जसले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएका थिए ।

नरक चतुर्दशीको विधिः

आज बिहानै अरूणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने पनि भनिन्छ ।

आयुर्वेदका चिकित्सक डा। वंशदीप शर्मा खरेलका अनुसार, यमपञ्चकका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्नाले शरीर स्वस्थ हुने आयुर्वेदिक मत छ । यसैले तिहारलाई स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रूपमा लिइन्छ

लक्ष्मी पूजा

यमपञ्चकको तेस्रो दिन (कार्तिक कृष्ण औँसी) को रातलाई सुखरात्री पनि भनिन्छ। आज साँझ धन धान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ ।

‘सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन्’ भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । घरका झ्याल, ढोका, कोठा, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

पूजा विधिः

आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातो माटोले लिपपोत गरिन्छ । चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ । पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक पूजा गरिन्छ ।

अन्य प्रचलनः

लक्ष्मीपूजापछि कन्या केटी र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

अलक्ष्मी भगाउनेः

मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धन धान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए।

भैलो खेल्नेः

आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भैलो खेल्न आउनेलाई दिइने धान, चामल र दक्षिणालाई कात्तिकको दान मानिन्छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै