काग तिहार आज, कलाकार दुलालले काग सम्मेलन गरेर मनाए

काठमाडौँ ।  प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज (आइतबार) बिहान यमराजको दूतका रूपमा कागलाई मीठो चिजबीज खान दिएर मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान सूर्योदयकालमा त्रयोदशी भएकाले आजै काग तिहार मनाउनु शास्त्रसम्मत रहेको जनाएको छ ।

यमदूतका रूपमा काग:

शास्त्रीय विधानअनुसार यमराजले लोकका सबै खबरहरू कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूत मानिन्छ। कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भन्ने कामनाका साथ आजका दिन कागलाई पूजा गर्ने र मीठो खान दिई खुसी पार्ने प्रचलन छ ।

लोक व्यवहारमा काग घर वरपर आई कराएमा उसले शुभ खबर लिएर आएको विश्वास गर्ने गरिन्छ । ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले यस दिन विशेषगरी दही भात खुवाउने चलन छ।

रमेश दुलालको २२औँ काग सम्मेलन:

काग तिहारकै अवसर पारेर कलाकार रमेश दुलाल ‘कागे’ ले राजधानीको नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि ‘२२औँ काग सम्मेलन’ सम्पन्न गरेका छन् ।

टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल वसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै कागलाई आकर्षित गरेका थिए। बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा उनले कागको आवाज निकाल्नासाथ धेरै कागहरू भेला भएका थिए ।

बहुमुखी प्रतिभाका धनी: दुलालले कागसहित १७३ प्रकारका जनावर र चराचुरुङ्गीका आवाज नक्कल गर्ने क्षमता राख्छन्। उनी मुखकै सहायताले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा र गितारको धुन निकाल्न पनि सिपालु छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै