पौडी खेल्नुअघि र पछि ध्यान दिनुपर्ने कुराहरू

काठमाडाैँ । गर्मी मौसममा पौडी खेल्नु एउटा रमाइलो अनुभव हो, जसले शरीरलाई चिसो राख्नुका साथै फिटनेसका लागि पनि फाइदा पुर्‍याउँछ । तर, स्विमिङ पुलको पानीमा हुने क्लोरिन र घामको प्रत्यक्ष सम्पर्कले छाला र कपालमा नकारात्मक असर पार्न सक्छ ।

छाला सुख्खा हुने, कालो हुने वा कपाल बिग्रिनेजस्ता समस्याबाट बच्न पौडी खेल्नुअघि र पछि केही कुराहरूमा ध्यान दिनु आवश्यक छ।

पौडी खेल्नुअघि गरिने तयारी (प्री-स्विम)

प्री-शावर (पहिले नै नुहाउने): धेरैलाई अनौठो लाग्न सक्छ, तर पुलमा जानुअघि सफा पानीले नुहाउनु छाला र कपालको सुरक्षाका लागि महत्त्वपूर्ण हुन्छ। यसले छालालाई पहिले नै हाइड्रेट राख्छ, जसले गर्दा छालाले क्लोरिन कम सोस्छ र सुख्खा हुनबाट बच्छ।

छालाको सुरक्षा: पौडी खेल्नुअघि छालामा राम्रोसँग मोइस्चराइजर लगाउनुहोस्। यसले छालालाई हाइड्रेट राख्छ र क्लोरिन सोस्नबाट रोक्छ। मोइस्चराइजर लगाएपछि, पुलमा जानुभन्दा कम्तीमा १५ मिनेटअघि एसपीएफ ५० र वाटर रेसिस्टेन्ट सनस्क्रिन लगाउनुहोस्। हरेक दुई घण्टामा सनस्क्रिन फेरि लगाउन (रिअप्लाई) नबिर्सनुहोस्।

कपालको हेरचाह: पुलमा जानुअघि स्विमिङ क्याप लगाउनु आवश्यक छ। यदि क्याप लगाएर पनि कपाल रुखो हुने समस्या छ भने, पौडी खेल्नुअघि कपालमा तेल लगाउनुहोस्। तेलले कपालमा एक सुरक्षात्मक तह बनाउँछ, जसले क्लोरिनबाट हुने नोक्सानलाई कम गर्छ।

पौडी खेलेपछि गरिने हेरचाह (पोस्ट-स्विम)

तुरुन्तै नुहाउने: पौडी खेलेर बाहिर निस्केपछि तुरुन्तै सफा पानीले नुहाउनुहोस्। यसले शरीरमा रहेको क्लोरिन र ब्याक्टेरिया हटाउन मद्दत गर्छ।

छाला मोइस्चराइज गर्ने: नुहाएपछि छालामा राम्रोसँग मोइस्चराइजर लगाउनुहोस्। यसले छालालाई डिहाइड्रेसन र पोल्नबाट बचाउँछ।

कपालको सफाइ र पोषण: पौडी खेलेपछि कपाललाई स्याम्पुले धुनुहोस् र हाइड्रेटिङ कन्डिसनरको प्रयोग गर्नुहोस्। यसले कपाललाई नरम र स्वस्थ राख्न मद्दत गर्छ।

यी सावधानीहरू अपनाएर तपाईं गर्मीमा पौडी खेल्ने मज्जा लिन सक्नुहुन्छ, साथै छाला र कपाललाई सम्भावित नोक्सानबाट जोगाउन सक्नुहुन्छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै