अबुधाबी । संयुक्त अरब एमिरेट्स (यूएई) को अबु धाबीमा भएको ड्रोन तथा मिसाइल आक्रमणका क्रममा सात जना नेपाली नागरिक घाइते भएका छन्। अबु धाबीको अजबान क्षेत्रमा एयर डिफेन्सले आक्रमणकारी मिसाइल र ड्रोनलाई आकाशमै नष्ट गर्ने क्रममा त्यसको अवशेष (मलवा) खस्दा नेपालीहरू घाइते भएका हुन् ।
अबु धाबी मिडिया अफिसका अनुसार, उक्त घटनामा कुल १२ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराका अनुसार घाइतेमध्ये सात जना नेपाली र पाँच जना भारतीय नागरिक रहेका छन् । घाइते नेपालीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ भने अन्य ६ जनाको अवस्था सामान्यदेखि मध्यम रहेको छ ।
घाइते सबैलाई तत्काल उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको छ । यूएईका सुरक्षा अधिकारीहरूले आक्रमणकारी मिसाइल र ड्रोनलाई सफलतापूर्वक रोकेको दाबी गर्दै नागरिकहरूलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन् ।
अधिकारीहरूले घटनाबारे आधिकारिक स्रोतबाट आउने जानकारीलाई मात्र विश्वास गर्न र सामाजिक सञ्जालमा फैलिन सक्ने भ्रम तथा अफवाहको पछि नलाग्न सर्वसाधारणलाई अपिल गरेका छन् । घटनापछि नेपाली दूतावासले घाइतेहरूको अवस्थाबारे थप जानकारी लिने प्रयास गरिरहेको बुझिएको छ ।