काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा देशबासीलाई सम्बोधन गर्दै अमेरिकाको जितसहित इरान युद्ध समाप्तिको नजिक पुगेको बताए लगत्तै विश्वव्यापी तेल बजार उकालो लागेको छ । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि चुलिएको इन्धन अभावले विश्व प्रभावित भइरहेको छ ।
ट्रम्पले सम्बोधन सुरु गर्नुअघि बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल लगभग १०० डलर थियो । भाषणका क्रममा उतारचढावपूर्ण रहे पनि सम्बोधनपछि तेलको मूल्य ४ प्रतिशतले बढेर १०५.३८ डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
ट्रम्पले होर्मुज स्ट्रेट जलमार्गबारे घोषणा गर्न सक्ने अपेक्षा गरिए पनि सम्बोधन नगरिँदा तेलको मूल्य बढ्दै गएको छ । होर्मुज स्ट्रेटबाट विश्वव्यापी ३० प्रतिशत ऊर्जा व्यापार हुने गरेको छ ।
फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि यो मार्ग लगभग बन्द छ । इरानले अमेरिकी र इजरायली हवाई आक्रमणको प्रतिक्रियामा यसबाट गुज्रने जहाजमा आक्रमण गर्ने धम्की दिँदै आएको छ ।
उनले इरानी नौसेना समाप्त भएको, वायुसेना भग्नावशेषमा परिणत भएको र इरानका अधिकांश शीर्ष नेताहरू मारिएको दाबी गरे । ट्रम्पका अनुसार इरानको मिसाइल र ड्रोन प्रहार गर्ने क्षमता अहिले व्यापक रूपमा कटौती भएको छ। ‘अमेरिकाले जितिरहेको छ र यो जित पहिलेको भन्दा निकै ठूलो छ,’ उनले भने । –एजेन्सी