इस्लामावाद / वासिङ्टन । इरान, अमेरिका र इजरायलबीच बढ्दो युद्धको जोखिम कम गर्न पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेल्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानी मध्यस्थतामा वार्ता गर्न सहमति दिएसँगै विश्व राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ ।
केही दिनभित्रै सुरु हुने भनिएको यस वार्ताको स्थान भने अझै निश्चित भइसकेको छैन । पाकिस्तानको यो सक्रियतालाई अन्तर्राष्ट्रिय मञ्चमा उसको बढ्दो प्रभाव र कूटनीतिक सफलताका रूपमा हेरिएको छ ।
भारतका लागि चिन्ताको विषय
पाकिस्तानले विश्व शक्तिका बीचमा मध्यस्थता गर्ने खबरले भारतीय राजनीतिक वृत्तमा संशय र चिन्ता बढाएको छ । बीबीसीका अनुसार अन्तर्राष्ट्रिय मञ्चमा पाकिस्तानको हैसियत बढ्नु भारतका लागि कूटनीतिक चुनौती मानिएको छ । भारतभित्र सरकारको कूटनीतिक पहल कमजोर भएको भन्दै बहस समेत सुरु भएको छ ।
अट्लान्टिक काउन्सिलका दक्षिण एसिया मामिला विज्ञ माइक कुगल्म्यानका अनुसार यो पहलले पाकिस्तानलाई विश्व कूटनीतिमा नयाँ उचाइ दिनेछ। उनले भनेका छन्: “यदि यो वार्ता सफल भएमा पाकिस्तान विश्व शान्तिको एउटा महत्वपूर्ण हिस्सा बन्नेछ । वार्ता सफल नभए पनि यस्तो सत्प्रयासले विश्व कूटनीतिक क्षेत्रमा पाकिस्तानको सम्मान बढ्नेछ, जुन उसको सदावहार प्रतिद्वन्द्वी भारतका लागि ठूलो धक्का हो ।”
पाकिस्तानको रणनीतिक सन्तुलन
इरान र पाकिस्तानबीच करिब ९०० किलोमिटर लामो सीमा जोडिएको छ र दुवै मुस्लिम राष्ट्र भएकाले यिनीहरूबीच प्रगाढ सम्बन्ध छ । अर्कोतर्फ, पाकिस्तान र इजरायलबीच कूटनीतिक सम्बन्ध सुमधुर नभए पनि पछिल्लो समय अमेरिकासँग पाकिस्तानको सम्बन्ध थप मजबुत बन्दै गएको छ ।
विश्लेषकहरूका अनुसार, यदि यो युद्ध इरान र इजरायलबीच मात्रै सीमित भएको भए पाकिस्तानले इरानलाई खुला सहयोग गर्ने थियो । तर, अमेरिकाको संलग्नताका कारण पाकिस्तानले हाल ‘तटस्थ’ बसेर मध्यस्थताको बाटो रोजेको हो ।
यो कूटनीतिक मोडले दक्षिण एसियाली शक्ति सन्तुलनमा दीर्घकालीन असर पार्ने देखिएको छ ।