रियादस्थित अमेरिकी दूतावासमा इरानले गर्‍यो ड्रोन आक्रमण, मध्यपूर्वमा सुरक्षा चुनौती झनै चुलियो

काठमाडौँ । साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । साउदी अरबको रक्षा मन्त्रालयले दूतावासलाई निशाना बनाएर दुईवटा ड्रोन प्रहार भएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार प्रारम्भिक अनुमानमा ती ड्रोनहरूले दूतावासको भवनमा क्षति पुर्‍याउने उद्देश्य राखेका थिए ।

सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जारी गरिएको आधिकारिक विज्ञप्तिमा आक्रमणका कारण दूतावास परिसरमा सामान्य आगलागी भएको र भवनमा आंशिक क्षति पुगेको उल्लेख छ । समाचार एजेन्सी रोयटर्सका अनुसार आक्रमण लगत्तै ठूलो विष्फोटको आवाज सुनिएको थियो भने दूतावास क्षेत्रको आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो । यद्यपि, आक्रमण हुनुपूर्व नै भवन खाली गराइएकाले मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।

सुरक्षित रहन अमेरिकी मिशनको चेतावनी

आक्रमणपछि साउदी अरबस्थित अमेरिकी मिशनले उच्च सुरक्षा सतर्कता अपनाउन आफ्ना नागरिक र कर्मचारीलाई आग्रह गरेको छ । मिशनले रियाद, जेद्दा र धहरानमा रहेका अमेरिकी नागरिकहरूलाई ‘घरभित्रै सुरक्षित बस्न’ (सेल्टर इन प्लेस) निर्देशन जारी गरेको छ । साथै, यस क्षेत्रमा रहेका कुनै पनि सैन्य प्रतिष्ठानहरूमा अत्यावश्यक बाहेकको यात्रा नगर्न समेत सचेत गराइएको छ ।

बदलाको शृङ्खला र क्षेत्रीय तनाव

मध्यपूर्वमा जारी इजरायल–इरान तनावका बीच यो आक्रमण भएको हो । केही समयअघि इजरायल र अमेरिकाले इरानमाथि गरेको आक्रमणमा सर्वोच्च नेता अलि खामेनी मारिएको दाबी सार्वजनिक भएपछि इरानले खाडी मुलुकमा रहेका अमेरिकी र इजरायली सैन्य अड्डा एवं दूतावासहरूलाई निशाना बनाउँदै आएको छ ।

यसअघि सोमबार कुवेतस्थित अमेरिकी दूतावास नजिकै पनि शंकास्पद धुवाँ देखिएपछि त्यहाँको कूटनीतिक नियोगले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको थियो । इरानले बदला लिने चेतावनी दिएसँगै खाडीका विभिन्न मुलुकमा ड्रोन र मिसाइल आक्रमणका घटनाहरू बढिरहेका छन् ।

मध्यपूर्वमा बढ्दो तनावका कारण त्यहाँ कार्यरत नेपाली श्रमिकहरू समेत त्रसित बनेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को एक विमानस्थलमा भएको यस्तै प्रकृतिको आक्रमणमा सुरक्षा गार्डका रूपमा कार्यरत गोरखाका दिवस श्रेष्ठको ज्यान गएपछि नेपाली समुदाय थप चिन्तित बनेको हो । अहिले साउदी, कुवेत र यूएई लगायतका मुलुकमा निरन्तर खतराको साइरन बज्ने र आकाशमा ड्रोनहरू देखिने क्रम बढेकाले नेपालीहरूले असुरक्षित महसुस गरिरहेका छन् ।

क्षेत्रीय सुरक्षा विज्ञहरूले यस घटनालाई मध्यपूर्वमा हुनसक्ने ठूलो युद्धको संकेतका रूपमा हेरेका छन् । साउदी सेना र अन्तर्राष्ट्रिय सुरक्षा फौजले अहिले रियादको आकाशमा कडा निगरानी गरिरहेका छन् ।

इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु

No photo description available.

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले सोमबार इरानसँगको द्वन्द्वका क्रममा ६ जना अमेरिकी सेवा सदस्य (सैनिक) को मृत्यु भएको जनाएको छ। रोयटर्सका अनुसार अमेरिकी सेनाले एक विज्ञप्ति जारी गर्दै सोमबार भएको उक्त घटनाको पुष्टि गरेको हो।

घटनाको प्रकृति र मारिएका सैनिकहरूको विस्तृत विवरण भने गोप्य राखिएको छ। यसअघि सेन्टकमले ओमानको खाडीमा ११ वटा इरानी जहाजहरू डुबाइदिएको बताएको थियो । अब उक्त क्षेत्रमा इरानको कुनै पनि जहाज बाँकी नरहेको अमेरिकाको दाबी छ ।

इरानले दशकौँदेखि ओमानको खाडीमा अन्तर्राष्ट्रिय ढुवानीलाई दुःख दिने र आक्रमण गर्ने गर्दै आएको सेन्टकमको भनाइ छ ।

इरानमा अमेरिकाको ‘ठूलो सैन्य कारबाही’ जारी छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी शासनले खडा गरेका खतराहरूलाई निर्मूल पार्न अमेरिकाले इरानमा ठूलो लडाइँ जारी राखेको बताएका छन् ।

उनले इरानले अमेरिकी चेतावनीहरूलाई बेवास्ता गरेको र आफ्नो आणविक हतियारको खोजी रोक्न अस्वीकार गरेको बताएका छन् । अमेरिकी राष्ट्रपतिले इरानको क्षेप्यास्त्र कार्यक्रम आणविक हतियार विकासलाई संरक्षण गर्ने उद्देश्यले बनाइएको आरोप लगाए ।

ट्रम्पले यो कार्य रोक्न चाहने देश अमेरिका भए पनि सबै उनको समर्थनमा रहेको बताए । उनले आणविक हतियार र लामो दूरीका क्षेप्यास्त्रहरूले सुसज्जित इरानी शासन मध्यपूर्वका साथै अमेरिकी जनताका लागि पनि असह्य खतरा हुने बताए ।

यो युद्ध सुरु गर्ने निर्णय लिनुको कारणबारे ट्रम्पले इरानी शासनले खडा गरेका असह्य खतराहरूलाई हटाउनु रहेको बताएका छन् । यो प्रहार गर्ने अन्तिम र सबैभन्दा उत्तम मौका भएको उनको भनाइ छ ।

ट्रम्पले इरानमा भइरहेको यस अभियानका उद्देश्य इरानलाई कहिल्यै आणविक हतियार प्राप्त गर्न नदिने मात्र नभई इरानको क्षेप्यास्त्र क्षमता नष्ट गर्ने र उनीहरूको नौसेनालाई सखाप पार्ने रहेको बताए ।

इरानले अब आफ्नो सिमाना बाहिरका आतंकवादी सेनाहरूलाई हतियार दिने, आर्थिक सहयोग गर्ने र निर्देशन दिने कार्य जारी राख्न नसक्ने ट्रम्पको भनाइ छ ।

खामेनीको हत्यापछि पाकिस्तानमा हिंसात्मक प्रदर्शन: २० जनाको मृत्यु, दर्जनौँ घाइते

अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि पाकिस्तानका प्रमुख सहरहरूमा भीषण प्रदर्शन र हिंसा भड्किएको छ ।

आइतबार देशभर भएका प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबिच झडप हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

विशेषगरी शिया समुदायको बाहुल्यता रहेका क्षेत्रहरूमा प्रदर्शनले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षा फौजले अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ । हिंसात्मक झडपमा परी कराँचीमा १० जना, स्कार्दुमा ८ जना र राजधानी इस्लामावादमा २ जनाले ज्यान गुमाएका छन् ।

इस्लामावादको रेड जोन नजिकै हजारौँको संख्यामा भेला भएका प्रदर्शनकारीले अमेरिका र इजरायल विरुद्ध चर्को नाराबाजी गरेका थिए । प्रदर्शनकारीले अमेरिकी दूतावासतर्फ अघि बढ्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। घाइतेहरूका अनुसार सुरक्षाकर्मीले गोली समेत चलाएका थिए, जसका कारण इस्लामावादको सरकारी अस्पतालमा ३५ भन्दा बढी घाइतेको उपचार भइरहेको छ ।

कराँचीमा प्रदर्शनकारीहरूले अमेरिकी वाणिज्य दूतावासको बाहिरी गेट नाघेर मुख्य भवनका झ्यालहरू फुटाएपछि अवस्था नियन्त्रण बाहिर गएको थियो । सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अली शाहले यस घटनालाई अत्यन्तै दुःखद भन्दै निष्पक्ष छानबिनको आदेश दिएका छन् ।

उता उत्तरतर्फको पहाडी क्षेत्र गिल्गिट-बाल्टिस्तानको स्कार्दुमा प्रदर्शनकारीले संयुक्त राष्ट्र संघको कार्यालयमा आगजनी गरेपछि त्यहाँ तीन दिनका लागि कर्फ्यु लगाइएको छ । पाकिस्तान सरकारले इरानमाथि भएको हमलाको निन्दा गरे पनि प्रदर्शनकारीहरूले आफ्नो सरकारले पर्याप्त कदम नचालेको भन्दै आक्रोश पोखेका छन् ।

यसैबिच, इस्लामावादस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई भिडभाड हुने क्षेत्रमा नजान सचेत गराएको छ ।पाकिस्तानमा सन् १९७९ मा पनि यस्तै अफवाहका कारण अमेरिकी दूतावासमा आगजनी भएको थियो, जसको स्मरण यसपटकको हिंसाले गराएको छ ।

लाहोर, पेशावर, मुल्तान र फैसलावादमा पनि हजारौँ मानिस सडकमा उत्रिएर खामेनीको मृत्युमा शोक व्यक्त गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

रियादस्थित अमेरिकी दूतावासमा इरानले गर्‍यो ड्रोन आक्रमण, मध्यपूर्वमा सुरक्षा चुनौती झनै चुलियो

मध्यपूर्वमा युद्ध चर्किंदा नेपाली अर्थतन्त्रलाई धक्का: महँगी बढ्ने, जीडीपी नकारात्मक हुने जोखिम

इजरायलको प्रधानमन्त्री कार्यालयमा मिसाइल आक्रमण, नेतान्याहुको अवस्था अज्ञात !

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै