एजेन्सी । अमेरिका र इन्डोनेसियाबीच आपसी व्यापारलाई सहज बनाउने उद्देश्यसहित भन्सार शुल्क घटाउने सम्झौता सम्पन्न भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोबीच भएको सहमतिअनुसार इन्डोनेसियामाथि लाग्दै आएको अमेरिकी आयात शुल्क ३२ प्रतिशतबाट घटाएर १९ प्रतिशतमा झारिएको बीबीसीले जनाएको छ ।
ह्वाइट हाउसका अनुसार बिहीबार सम्पन्न सम्झौताअनुसार इन्डोनेसियाले अमेरिकी वस्तुहरूको ९९ प्रतिशतभन्दा बढीमा लाग्दै आएका व्यापार अवरोध हटाउनेछ । यसमा कृषि, स्वास्थ्य सेवा, समुद्री उत्पादन, प्रविधि तथा अटोसम्बन्धी सामग्री समावेश छन् । अमेरिकाले पनि केही इन्डोनेसियाली वस्तुहरूमा भन्सार छुट दिएको छ । विशेषगरी अमेरिकी कपास वा कृत्रिम रेशाबाट बनेका लुगा तथा कपडामा शुल्क छुट प्रदान गरिएको जनाइएको छ ।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले यो सम्झौताले व्यापार अवरोध हटाउँदै अमेरिकी जनताको हितलाई अघि बढाउने बताएका छन् ।
सम्झौताअनुसार इन्डोनेसियाले अमेरिकी सवारीसाधन सुरक्षा तथा उत्सर्जन मापदण्ड स्वीकार गर्नेछ । साथै चिकित्सा उपकरण र औषधि उत्पादनका लागि अमेरिकी खाद्य तथा औषधि प्रशासनका मापदण्ड पनि लागू गरिनेछ । यसका अतिरिक्त, इन्डोनेसियाले अमेरिकी कृषि तथा प्रविधि उत्पादनलाई आफ्नो बजारमा सहज पहुँच दिने प्रतिबद्धता जनाएको छ ।
राष्ट्रपति प्राबोवो सुबियान्तो वासिङ्टन भ्रमणका क्रममा ट्रम्प नेतृत्वको ‘बोर्ड अफ पिस’ को पहिलो बैठकमा सहभागी हुन पुगेका बेला उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । उक्त बैठक गाजाको पुनर्निर्माणबारे छलफल गर्न आयोजना गरिएको थियो ।
ह्वाइट हाउसका अनुसार यस सम्झौताले दुवै देशबीचको व्यापार सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।