बेलायतमा महिला र पुरुषको तलबमा ठूलो अन्तर, समानता आउन ३० वर्ष लाग्ने

लन्डन (एजेन्सी) । विश्वका विकसित देशहरूमध्ये एक बेलायतमा पनि पुरुष र महिलाको तलबबीचको खाडल अझै पुरिन सकेको छैन ।

ट्रेड्स्स युनियन कांग्रेसले आधिकारिक तलब तथ्यांकको विश्लेषण गर्दै सुधारको वर्तमान गति कायमै रहेमा यो ‘जेन्डर पे ग्याप’ पूर्ण रूपमा अन्त्य हुन अझै ३० वर्ष लाग्ने बताएको छ । समान तलबका लागि सन् २०५६ सम्म कुर्नुपर्नेछ ।

ट्रेड्स युनियन कांग्रेसका अनुसार पुरुष र महिलाको औसत कमाइमा हाल १२.८ प्रतिशतको अन्तर छ, जुन वार्षिक रूपमा करिब २५ सय ४८ ब्रिटिश पाउन्ड स्टर्लिङ बराबर हुन आउँछ ।

युनियनका अनुसार यो असमानताको अर्थ एक औसत महिला कर्मचारीले वर्षको ४७ दिन प्रभावकारी रूपमा बिना तलब काम गरेसरह हो । बेलायतमा २५० भन्दा बढी कर्मचारी भएका रोजगारदाताहरूका लागि आफ्नो तलबसम्बन्धी तथ्यांक सार्वजनिक गर्नु अनिवार्य छ ।

ट्रेड्स युनियन कांग्रेसको विश्लेषणअनुसार यो अन्तर सबैभन्दा बढी वित्त र बिमा क्षेत्रमा देखिएको छ । फाइनान्स र इन्स्योरेन्स क्षेत्रमा २७.२ प्रतिशत अन्तर छ, जुन सबैभन्दा ठूलो हो । शिक्षा क्षेत्रमा १७ प्रतिशत अन्तर छ । यसबाहेक स्वास्थ्य तथा सामाजिक हेरचाह क्षेत्रमा १२.८ प्रतिशत अन्तर छ । लिजर सर्भिस क्षेत्रमा १.५ प्रतिशत मात्र अन्तर छ, जुन सबैभन्दा कम हो ।

५०–५९ उमेर समूहमा सबैभन्दा ठूलो खाडल

५० देखि ५९ वर्ष उमेर समूहका कर्मचारीहरूमा लैंगिक तलब अन्तर सबैभन्दा बढी देखिएको छ । यसको मुख्य कारण धेरै महिलाहरूले परिवार र बालबालिकाको हेरचाहको जिम्मेवारीका कारण आफ्नो करियर लामो समयसम्म रोक्नु वा आफ्नो आय घटाउनु रहेको युनियनको ठहर छ ।

तलबको यो अन्तर कम गर्न ट्रेड्स युनियन कांग्रेसले विभिन्न मागहरू अघि सारेको छ । यसमा ‘फ्लेक्सिबल वर्किङ’को राम्रो सुविधा, शिशु स्याहारमा सहज पहुँच, तथा रोजगारदाताहरूले तलबअन्तर घटाउनका लागि आफ्नो योजना अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने माग छन् ।

ट्रेड्स युनियन कांग्रेसका महासचिव पल नोवाकले भने, “पुरुषको तुलनामा महिलाहरूले वर्षको पहिलो करिब डेढ महिना प्रभावकारी रूपमा निःशुल्क काम गरिरहेका छन् ।” नोवाकले हालै लागु भएको ‘रोजगार अधिकार ऐन’लाई तलब समानताको दिशामा एक महत्वपूर्ण कदम बताएका छन् । -द गार्जियनबाट

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै