जापान निर्वाचन: ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टीलाई भारी बहुमत

काठमाडौँ । जापानकाे प्रधानमन्त्री निर्वाचनमा ट्रम्पको समर्थन पाएकी सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले अत्यधिक बहुमत विजयी भएकाे छ ।

आइतबार सम्पन्न निर्वाचनमा मतदाताहरूले उनको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीलाई भारी बहुमत दिएका हुन् । मध्यावधि निर्वाचनमार्फत ताकाइचीले लिएको राजनीतिक जोखिम अन्ततः सफल भएको छ ।

प्रधानमन्त्री ताकाइचीका लागि जनमत संग्रहको रूपमा हेरिएको यस निर्वाचनमा ४६५ सदस्यीय तल्लो सदनमा एलडीपी एक्लैले ३१० भन्दा बढी सिट जितेको छ । दोस्रो विश्वयुद्धपछि जापानमा कुनै एउटा दलले दुई-तिहाइ सिट जितेको यो पहिलो पटक हो । सत्तारुढ गठबन्धनले कुल ३४० भन्दा बढी सिट प्राप्त गरेको छ ।

निर्वाचनपछि ताकाइचीले भनिन्, “मैले जिम्मेवार र सक्रिय वित्तीय नीतिका लागि जनादेश मागेको थिएँ, जसले अर्थतन्त्रलाई नयाँ दिशा दिनेछ ।” ट्रम्पको समर्थन र अन्तर्राष्ट्रिय प्रभाव जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा इतिहास रचेकी कट्टरपन्थी अनुदारवादी नेता ताकाइचीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समेत समर्थन रहेको थियो। ट्रम्पले सामाजिक सञ्जालमार्फत ताकाइचीलाई बधाई दिँदै उनको साहस र बुद्धिमानी निर्णयले ठुलो सफलता पाएको बताएका छन् ।

ताकाइचीले पनि सामाजिक सञ्जाल ‘एक्स’ मार्फत ट्रम्पलाई धन्यवाद दिँदै अमेरिका-जापान गठबन्धनको सम्भावना “असीमित” रहेको उल्लेख गरेकी छिन् ।

चुनौती र अवसर तल्लो सदनमा प्राप्त दुई-तिहाइ बहुमतले ताकाइचीलाई माथिल्लो सदनका निर्णयहरू उल्ट्याउने र संविधान संशोधनका प्रस्तावहरू अघि बढाउने शक्ति प्रदान गरेको छ। अब उनलाई जापानको वृद्ध हुँदै गएको जनसंख्या, बढ्दो महँगी, कमजोर येन र चीनसँगको बिग्रिएको सम्बन्ध जस्ता चुनौतीहरू सामना गर्न नयाँ जनादेश प्राप्त भएको छ ।

गत असोजमा शिगेरु इशिबाको राजीनामापछि सत्तामा आएकी ताकाइचीले आफ्नो पद नै दाउमा राखेर संसद भंग गरेकी थिइन्। उनको कार्यशैली, सामाजिक सञ्जालमा सक्रियता र ‘मार्ग्रेट थ्याचर’ बाट प्रेरित राजनीतिक छविका कारण उनी जापानी जनतामाझ निकै लोकप्रिय बनेकी छिन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै