वासिङ्टन डीसी । अमेरिकामा रहेका नेपालीहरूलाई त्यहाँको कानुन पालना गर्न र गलत विवरण पेस गरी सरकारी सुविधाहरू नलिन वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासले विशेष अपिल गरेको छ ।
बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी वा व्यवसायका सिलसिलामा अमेरिकामा रहेका नेपालीहरूलाई अमेरिकी नागरिकले पाउने सहुलियतपूर्ण सुविधाहरू नलिन आग्रह गरेको हो ।
भिसा र ग्रीन कार्ड रद्द हुन सक्ने दूतावासका अनुसार, अमेरिकी सरकारले आफ्ना नागरिकका लागि उपलब्ध गराउने सहुलियतपूर्ण स्वास्थ्य उपचार, आवास, परिवार सहायता र शैक्षिक सहायताजस्ता सुविधाहरूमा निर्भर रहेको पाइएमा त्यस्ता व्यक्तिको भिसा वा ग्रीन कार्ड रद्द हुन सक्छ। “गलत विवरण पेस गरी यस्ता सुविधा लिएको पाइएमा भिसा वा ‘ग्रीन कार्ड स्टाटस’ मा सोझै असर पर्ने जानकारी अमेरिकी अधिकारीहरूबाट प्राप्त भएको छ,” दूतावासको विज्ञप्तिमा उल्लेख छ ।
नेपालीहरू ‘रेकर्ड’ मा देखिएको दाबी दूतावासले सन् २०२४ मा अमेरिकी सरकारका सहुलियतपूर्ण सेवा लिने विदेशीहरूको सूचीमा नेपाली नागरिकहरू अग्रपङ्क्तिमा देखिएको भन्दै ध्यानाकर्षण गराएको छ। सोही कारणले गर्दा नेपालीका लागि हाललाई आप्रवासी भिसा (Immigrant Visa) प्रक्रियामा समेत प्रभाव परेको र अमेरिकाले यसअघि नै सार्वजनिक सूचना जारी गरेको स्मरण गराइएको छ ।
भिसाको दुरुपयोग नगर्न आग्रह दूतावासले व्यापारिक तथा पर्यटकीय प्रयोजनका लागि प्राप्त हुने ‘बी १’ र ‘बी २’ भिसाको दुरुपयोग नगर्न समेत अनुरोध गरेको छ । पछिल्लो समय अमेरिकी सरकारले भिसा प्रावधानहरूमा कडाइ गर्दै लगेको सन्दर्भमा नेपाली नागरिकहरूलाई सतर्क रहन दूतावासले सचेत गराएको हो ।