अमेरिकी राष्ट्रपति ट्रम्प र फेड अध्यक्ष पावेलबीचको विवाद उत्कर्षमा: पावेलले लगाए पक्राउ तयारीको आरोप

वासिङ्टन डीसी । संयुक्त राज्य अमेरिकाको केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ (फेड) का अध्यक्ष जेरोम पावेल र राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको टकराव नयाँ उचाइमा पुगेको छ। विवादकै बीच पावेलले राष्ट्रपति प्रशासनले आफूलाई पक्राउ गर्ने तयारी गरिरहेको सनसनीपूर्ण दाबी गरेका छन्।

विवादको पृष्ठभूमि र दबाब

गत वर्ष पुनः राष्ट्रपति निर्वाचित भएदेखि नै डोनाल्ड ट्रम्पले पावेललाई राजीनामा दिन निरन्तर दबाब दिँदै आएका छन्। ब्याजदर कटौती गर्ने ट्रम्पको आदेश पालना नगरेको र राजीनामा दिन पनि अस्वीकार गरेपछि ट्रम्पले पछिल्लो कदम चालेका हुन्। राष्ट्रपति ट्रम्पले अमेरिकी न्याय विभागलाई फेड अध्यक्ष पावेलमाथि आपराधिक अनुसन्धान सुरु गर्न आदेश दिएका छन्।

पावेलको प्रतिक्रिया: ‘यो प्रशासनको धम्की हो’

न्याय विभागले आफूमाथि आपराधिक अभियोग लगाउने तयारी गरेको भन्दै पावेलले यसलाई ‘राजनीतिक प्रतिशोध’को संज्ञा दिएका छन्। उनले भनेका छन्, “म लोकतन्त्रमा विधिको शासन र जवाफदेहिताको सम्मान गर्छु। कोही पनि कानुनभन्दा माथि छैन, तर यो अभूतपूर्व कार्यलाई प्रशासनको निरन्तर दबाब र धम्कीको सन्दर्भमा हेरिनुपर्छ।”

सहयोगीमाथि प्रहार र अदालती प्रक्रिया

ट्रम्पले यसअघि पावेलकी निकट सहयोगी तथा फेड सञ्चालक लिसा कुकमाथि पनि निशाना साधेका थिए। ‘धितो छली’को आरोपमा उनलाई बर्खास्त गर्ने ट्रम्पको प्रयासलाई संघीय अदालतले रोक लगाइसकेको छ, जसको अन्तिम सुनुवाइ यसै महिनाको अन्त्यमा सर्वोच्च अदालतमा हुँदैछ।

अघिल्ला घटनाक्रम र राजनीतिक प्रतिद्वन्द्वी

ट्रम्पको न्याय विभागले यसअघि पनि आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूमाथि मुद्दा चलाउने प्रयास गरेको थियो। न्यूयोर्ककी महान्यायाधिवक्ता लेटिटिया जेम्स र एफबीआईका पूर्व प्रमुख जेम्स कोमीमाथि लगाइएका आपराधिक आरोपहरू अदालतले खारेज गरिदिएको थियो। कोमी र जेम्स दुवैले ट्रम्प प्रशासनको कदमलाई राजनीतिक रूपमा पूर्वाग्रही बताउँदै आएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै