अङ्कारा (टर्की) । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टेलिफोन गर्दै भेनेजुएलालाई अस्थिरताको खाडलमा नधकेल्न चेतावनी दिएका छन् । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएको घटनापछि एर्दोगानले कडा कूटनीतिक प्रतिक्रिया दिएका हुन् ।
अन्तर्राष्ट्रिय कानुनको रक्षामा जोड
मन्त्रिपरिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति एर्दोगानले विश्वको कुनै पनि कुनामा हुने राजनीतिक वैधानिकता र अन्तर्राष्ट्रिय कानुनको उल्लंघनलाई टर्कीले समर्थन नगर्ने स्पष्ट पारे । “कुनै पनि देशको सार्वभौम अधिकार र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्नु जोखिमपूर्ण कदम हो, यसले विश्वव्यापी रूपमा गम्भीर जटिलताहरू निम्त्याउन सक्छ,” उनले भने ।
मादुरोसँगको मित्रता र कूटनीतिक चिन्ता राष्ट्रपति ट्रम्पसँगको वार्तामा एर्दोगानले भेनेजुएलाको सुरक्षा र अखण्डताको मुद्दालाई प्राथमिकताका साथ उठाएका थिए । उनले राष्ट्रपति मादुरो र भेनेजुएली जनता सधैँ टर्कीको ‘असल मित्र’ रहेको उल्लेख गर्दै टर्की सधैँ त्यहाँका जनताको हितको पक्षमा उभिने बताए । “कानुनको शासनभन्दा शक्तिको कानुन हाबी हुने विश्व व्यवस्थाले द्वन्द्व मात्र निम्त्याउँछ,” एर्दोगानले ट्रम्पसँग भनेका छन् ।
पृष्ठभूमि यो कूटनीतिक विकास यस्तो समयमा भएको हो, जब अमेरिकी सेनाले भेनेजुएलामा शृंखलाबद्ध आक्रमण गरी राष्ट्रपति मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर न्युयोर्क पुर्याएको छ । यस घटनाले विश्व राजनीतिमा ठूलो तरंग पैदा गरेको छ भने विभिन्न देशहरूले यसको निन्दा र विरोध गरिरहेका छन् ।