
गाजा। इजरायली सेनाले शनिबार गाजाका विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणमा कम्तीमा १९ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।
प्यालेस्टिनी समाचार एजेन्सी ‘वफा’का अनुसार गाजा सहरको अल-जर्का क्षेत्रमा गरिएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्। यस्तै, गाजाको अस्कौला क्षेत्रमा रहेको एक विद्यालयमा गरिएको बम आक्रमणमा पाँच जनाको ज्यान गएको र आवासीय भवनहरू क्षतिग्रस्त भएको जनाइएको छ।
मध्य गाजामा रहेको अल-बुरेज शरणार्थी शिविरमा इजरायली ड्रोनले निशाना बनाउँदा दुई जनाको मृत्यु भएको छ। अल-माघाजी शिविरमा पनि आक्रमणपछि दुई जनाको शव अस्पतालमा ल्याइएको छ।
त्यस्तै, दक्षिण गाजाको खान युनूसस्थित अल-मवासी क्षेत्रमा विस्थापितहरू बसोबास गरिरहेको शिविरमा इजरायली आक्रमण हुँदा सात जनाको ज्यान गएको छ भने १० भन्दा बढी घाइते भएका छन्। आक्रमणमा एक जना बुबा र उनका छोराको पनि ज्यान गएको जनाइएको छ।