
टेक्सास । अमेरिकाको टेक्सास राज्यमा आएको भीषण बाढीका कारण कम्तीमा १३ जनाको ज्यान गएको छ। ठूलो वर्षापछि ग्वाडालुपे नदीमा आएको बाढीले जनजीवन अस्तव्यस्त बनाएको हो।
बीबीसीका अनुसार, बाढी प्रभावित क्षेत्रमा रहेको स्थानीय ख्रीष्टियन शिविर ‘क्याम्प मिस्टिक’ बाट २० जनाभन्दा धेरै बालबालिका बेपत्ता भएका छन् । टेक्सासका उप-गभर्नर ड्यान प्याट्रिकले शिविरमा ७५० जना बालबालिका रहेको र बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् । शिविरबाट उद्धार गरिएका बालबालिकालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ भने अन्य वरपरका शिविरका बालबालिका सुरक्षित रहेको बताइएको छ।
कर्भिल शहरका मेयर जो हेयरिङ जुनियरले आपतकालीन विपद् अवस्थाको घोषणा गरेका छन्। टेक्सासका गभर्नर ग्रेग एबटले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सबै उपलब्ध स्रोत परिचालन गरिएको जानकारी दिएका छन्। उनले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि समन्वय गरिएको र आवश्यक परेको जुनसुकै सहयोग गर्न प्रतिबद्धता जनाएको खबरमा उल्लेख छ ।