इरान-इजरायल संघर्ष नयाँ मोडमा: कतारमा इरानी हमला र ट्रम्पको अप्रत्याशित युद्धविराम दाबी

काठमाडौँ । इरानले सोमबार कतारको दोहामा रहेको अमेरिकी एयरबेस अल-उदीदमा मिसाइल आक्रमण गरेसँगै इरान-इजरायल संघर्षले नयाँ र अप्रत्याशित मोड लिएको छ ।

इजरायलको पक्षमा उभिँदै अमेरिकाले पनि इरानका महत्वपूर्ण आणविक केन्द्रहरूलाई निशाना बनाएर हमला सुरु गरेपछि मध्यपूर्वमा तनाव थप बढेको थियो। तर, मंगलबार बिहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल पूर्ण युद्धविरामका लागि सहमत भएको दाबी गरेसँगै विस्तारित सशस्त्र संघर्ष तत्कालको लागि अन्त्य हुने संकेत देखिएको छ।

घटनाक्रम र तनावको उत्कर्ष

इरान-इजरायल द्वन्द्वसँगै विश्वका शक्ति राष्ट्रहरूबीच ध्रुवीकरण तीव्र भएको थियो। मध्यरातमा इरानले आफ्ना परमाणु ठेगानाहरूमा गरिएका आक्रमणको बदला लिन कतारमा रहेको अमेरिकी अल-उदीद सैन्य केन्द्रमा ६ वटा मिसाइल प्रहार गरेसँगै मध्यपूर्वमा तनाव उत्कर्षमा पुग्यो। कतारको राजधानी दोहामा धेरैवटा विस्फोटको आवाज सुनिएपछि विश्वका धेरै देशका हवाई उडानहरू प्रभावित भएका थिए ।

कतारको रक्षा मन्त्रालयले आफ्ना हवाई सुरक्षा प्रणालीमार्फत सबै मिसाइल आक्रमण विफल पार्न सफल भएको र कुनै मानवीय क्षति नभएको दाबी गरे पनि सम्भावित युद्धका कारण मानिसहरू विश्वस्त हुन सकेका थिएनन्। कतारले इरानलाई जवाफी कारबाहीको चेतावनी पनि दिएको थियो। इरानले पूर्वसूचना दिएर आक्रमण गरेकोले हमला हुनु केही समयअघि कतारले आफ्नो हवाई क्षेत्र बन्द गरिसकेको थियो।

मध्यपूर्वको सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डामा हमला

कतारको अल-उदीद एयरबेस मध्यपूर्वमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा हो। यहाँ करिब ८,००० देखि १०,००० अमेरिकी सैनिक तैनाथ छन्। यो एयरबेस अमेरिकी सेनाको सेन्ट्रल कमान्ड अन्तर्गतको हवाई अभियानहरूको मुख्यालय र खाडी क्षेत्रमा अमेरिकी सैन्य सामग्री तथा आपूर्तिको केन्द्र पनि हो। यस एयरबेसमा खाडी क्षेत्रमा सबैभन्दा लामो एयर ल्यान्डिङ स्ट्रिप रहेको छ र कतारले सन् २००० मा अमेरिकालाई यो एयरबेस प्रयोग गर्न अनुमति दिएको थियो।

रिपोर्टहरू अनुसार, इरानले इराकमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा पनि मिसाइल प्रहार गरेको छ। १० वटा मिसाइल अल-उदीद एयरबेसतर्फ र एउटा मिसाइल इराकमा रहेका अमेरिकी सैन्य अड्डातर्फ प्रहार गरिएको बताइएको छ। यसअघि सोही दिन सिरियाको हसाका प्रान्तमा रहेको अमेरिकी सैन्य अड्डामा पनि हमला भएको थियो।

कतार होइन, अमेरिकालाई जवाफः इरान

इरानले कतार मित्र राष्ट्र भएकोले कतारको आवास क्षेत्रमा नभएर अमेरिकी सैन्य केन्द्रलाई निशाना बनाइएको स्पष्ट पारेको छ। उसले यो आक्रमणबाट आफ्नो मित्र राष्ट्र र त्यहाँका नागरिकमाथि कुनै खतरा नरहेको र इरान कतारसँग आफ्नो ऐतिहासिक सम्बन्ध कायम राख्न प्रतिबद्ध रहेको बताएको छ। इरानले बेञ्जामिन नेतान्याहुले अमेरिकालाई इरानको आणविक केन्द्रमा बमबारी गर्न उक्साएको र उसलाई एउटा महँगो युद्धमा घिसारेको तर्क गरेको छ।

विश्लेषकहरूले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानी आक्रमणलाई ‘अपेक्षाभन्दा बाहिरको हमला’ को रूपमा टिप्पणी गरेका छन्। लन्डनको किङ्स कलेजको स्कूल अफ सेक्युरिटी स्टडिजका एसोसिएट प्रोफेसर आन्द्रेयस क्रिगले अलजजीरासँग कुरा गर्दै यसलाई कतारको इतिहासमा पहिलो सैन्य हमला भएको बताएका छन्।

उनले इरानले आफूमाथि भएको हमलाको जवाफ दिन विभिन्न विकल्पमध्ये यो रोजेको बताए, तर यो न्यूनतम प्रतिक्रिया नभई ‘मध्यम किसिमको प्रतिक्रिया’ भएको उनको भनाइ छ। क्रिगका अनुसार, कतार इरानका लागि निकै महत्त्वपूर्ण देश हो किनभने यो अमेरिका र इरानबीच संवादको मध्यस्थकर्ताको भूमिकामा छ र सम्भावित परमाणु सम्झौतामा पनि केन्द्रीय भूमिकामा छ। यसैले कतारमाथिको हमला आवश्यकता भन्दा परको एक द्वन्द्व चर्काउने कदम भएको उनको निष्कर्ष छ।

ट्रम्पको युद्धविराम दाबी र विश्व प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल पूर्ण युद्धविरामका लागि सहमत भएको दाबी गरे पनि अहिलेसम्म इजरायल वा इरानबाट आधिकारिक प्रतिक्रिया आएको छैन। यद्यपि, रोयटर्सले अमेरिकी स्रोतलाई उद्धृत गर्दै कतारका प्रधानमन्त्री शेइख मोहम्मद बिन अब्दुर्रहमान अल थानीले इजरायल र इरानबीचको द्वन्द्वमा युद्धविरामको प्रस्तावमा तेहरानको सहमति पक्का गरेको उल्लेख गरेको छ। यो फोन संवाद ट्रम्पले कतारका अमीरलाई इजरायलले युद्धविराममा सहमति जनाएको जानकारी गराएपछि भएको बताइएको छ।

युद्ध चर्कने संकेतसँगै इराकी तेल कम्पनीले विदेशी कर्मचारी निकाल्ने घोषणा गरेको छ भने इरानका कतिपय कम्पनीमा तेल उत्पादन प्रभावित भएको छ। इजरायलले विद्यालय र कार्यालयहरू बन्द गर्ने घोषणा गरेको छ। विश्वका कैयौं देशका हवाई उडानहरू प्रभावित भएका छन्।

बेलायत र फ्रान्सले इजरायल र अमेरिकाको उक्त कदमबाट आफूलाई अलग राख्ने प्रयास गरेका छन्, तर इरानले ती देशहरूलाई समेत चेतावनी दिएको छ। चीनका विदेश मन्त्री वाङ यीले इरानमाथि इजरायल र अमेरिकाले गरेका आक्रमणहरूले संसारलाई गलत सन्देश दिएको र यसले नकारात्मक नमूना प्रस्तुत गरेको टिप्पणी गरेका छन्। उनले सबै पक्षले अवस्था शान्त पार्ने र वार्तातर्फ फर्कने कदम चाल्नुपर्नेमा जोड दिए। रूसी विदेश मन्त्रालयले इरानविरुद्ध अमेरिका र इजरायलले गरेको हमलामा ‘हिंसात्मक तनाव वृद्धि’ र ‘उकास्ने कार्यहरू’ तुरुन्त रोक्न आह्वान गरेको छ।

अस्पष्ट ट्रम्प रणनीति र भावी परिणाम

ट्रम्पले इरानका परमाणु केन्द्रमाथि आक्रमण गर्न प्रयोग गरेको कानुनी अधिकारमाथि अमेरिकामै प्रश्न उठेको छ। धेरैजसो डेमोक्र्याट र केही रिपब्लिकन सांसदहरूले ट्रम्प कदमको कानुनी वैधतामाथि प्रश्न उठाएका हुन्। बीबीसीका अनुसार, डेमोक्र्याट सांसदहरू मध्ये एलेक्जेन्ड्रिया ओकासियो कोर्टेज र बर्नी स्यान्डर्स लगायतले उक्त कदमलाई असंवैधानिक भन्दै आलोचना गरेका छन्। अमेरिकी संविधानको धारा २ अनुसार ‘राष्ट्रपति थल, जल, र वायुसेनाका सर्वोच्च कमान्डर हुने’ भनिएको छ, जसले विशेष परिस्थितिमा राष्ट्रपतिलाई सैन्य बल प्रयोग गर्ने अधिकार दिन्छ, तर ती परिस्थितिहरू स्पष्ट रूपमा परिभाषित छैनन्।

यदि डोनाल्ड ट्रम्पको युद्धविरामसम्बन्धी घोषणा सफल भयो भने यसलाई ट्रम्प प्रशासनले ह्वाइट हाउसको सबैभन्दा महत्त्वपूर्ण वैदेशिक नीतिगत उपलब्धिको रूपमा दाबी गर्नेछ। युक्रेन र गाजाका युद्ध अन्त्य गर्ने उनका ठूला प्रतिज्ञाहरू अहिलेसम्म पूरा भएका छैनन्, त्यसैले मध्यपूर्वमा युद्धको अन्त्य भयो भने यसलाई ठोस प्रगतिको रूपमा प्रस्तुत गर्ने प्रयास हुनेछ। अझ इरानको परमाणु कार्यक्रमको अन्त्य गरेको सन्देश दिन सक्दा त यसलाई अघिल्ला राष्ट्रपतिहरूले हासिल गर्न नसकेका उपलब्धिका रूपमा चित्रित गर्नेछन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै