कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, कति क्षति ?

एजेन्सी । इरानबाट सोमबार कतारको राजधानी दोहा नजिकै रहेको एक महत्त्वपूर्ण सैन्य अड्डातर्फ मिसाइल प्रहार गरिएको छ । तर, कतारको सुरक्षा संयन्त्रले ती मिसाइलहरू समयमै खसाल्न सफल भई जनजीवनमा कुनै क्षति नहोस् भन्ने सुनिश्चित गरेको छ ।

कतार सरकारका प्रवक्ता तथा प्रधानमन्त्रीका सल्लाहकार माजिद बिन मोहम्मद अल-अन्सारीले विज्ञप्ति जारी गर्दै यो आक्रमणलाई कतारको सार्वभौमिकता, हवाई क्षेत्र तथा अन्तर्राष्ट्रिय कानुनहरूको गम्भीर उल्लंघन भन्दै गहिरो चिन्ता व्यक्त गरे । उनले यस प्रकारका कार्यहरूले क्षेत्रीय स्थायित्वमा नकारात्मक असर पार्न सक्ने भन्दै तुरुन्तै शान्तिपूर्ण संवादमा फर्कन आग्रह गरेका छन् ।

उनका अनुसार अल उदीद सैन्य अड्डाबाट सुरक्षाका सबै आवश्यक कदमहरू अपनाउँदै समयमै सैनिक र कर्मचारीहरूको सुरक्षित स्थानान्तरण गरिएको थियो । यस आक्रमणबाट कुनै पनि व्यक्ति घाइते वा हताहत भएको विवरण नभएको पुष्टि गरिएको छ ।

इरानले आफ्नो राष्ट्रिय स्वाधीनता, भूभागीय अखण्डता र सुरक्षामा भएको कुनै पनि हस्तक्षेपको जवाफ दिन आफू बाध्य हुने स्पष्ट पार्दै आएको छ । यो प्रहार अमेरिकी पक्षबाट शनिबार इरानका तीनवटा परमाणु केन्द्रमा गरिएका हवाई आक्रमणको प्रतिशोधस्वरूप गरिएको बताइएको छ ।

यसबीच खाडी क्षेत्रका विभिन्न मुलुकहरूले सुरक्षाको दृष्टिले हवाई मार्ग अस्थायीरूपमा बन्द गरेका छन् । कतार र संयुक्त अरब इमिरेट्सले आक्रमण हुनुअघि नै आकाश मार्ग बन्द गरिसकेका थिए भने बहराइन र कुवेतले पनि सोमबार आंशिक हवाई मार्ग बन्दको घोषणा गरेका छन् ।

कतारको अल उदीद सैन्य अड्डा मध्यपूर्व क्षेत्रका लागि अमेरिकी तथा साझेदार राष्ट्रहरूको एक प्रमुख सैन्य आधार हो, जहाँ हजारौं सैनिकहरू तैनाथ छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै