
९० दिने रोकपछि कार्यान्वयनले पायो निरन्तरता, अमेरिकी दूतावासद्वारा विज्ञप्ति जारी
काठमाडौँ । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालमा निरन्तर रहने भएको छ।
गत फेब्रुअरीमा अमेरिकी विदेशमन्त्रीले वैदेशिक सहायता सम्बन्धी समीक्षा चलिरहेको बेला लगाएको ९० दिने रोक लाई हटाउँदै एमसिसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिन स्वीकृति प्रदान गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। सो निर्देशनपछि एमसिसी आयोजना अघि बढ्ने वा नबढ्ने विषयमा अन्योल छाएको थियो।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई ‘विश्वकै भ्रष्ट मुलुक’ भन्दै एमसिसी रोक्न निर्देशन दिएका थिए।
नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा एमसिसी र दूतावास सरोकारवालाहरूसँग सहकार्य तथा संवाद गर्दै यस समीक्षाको सकारात्मक परिणामका लागि प्रयत्नरत रहेको उल्लेख छ।
एमसिसीले नेपाल सरकारको अर्थ मन्त्रालय र एमसिए–नेपालसँग निकट सहकार्य गर्दै कम्प्याक्टअन्तर्गत गरिएका वा सुरु गर्न लागिएका गतिविधि (सम्भावित नयाँ प्रतिबद्धतासहित) अमेरिका र नेपाल सरकारका प्राथमिकतासँग मेल खाने, पारदर्शिता, सुशासन, प्रभावकारी कार्यान्वयन र जोखिम व्यवस्थापन सुनिश्चित गर्ने गरी अगाडि बढाइरहेको जनाएको छ।
अमेरिकी दूतावासका अनुसार, अमेरिका नेपालसँगको द्विपक्षीय सम्बन्ध र नेपाली जनताको समृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि प्रवद्र्धन गर्ने प्रयासप्रति प्रतिबद्ध छ।