माइजोगमाईका नागरिकको आर्थिक सुरक्षाका लागि बीमा सचेतना कार्यक्रम

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा इलामको माइजोगमाई गाउँपालिकामा बीमाको महत्व, पहुँच र प्रभावकारी कार्यान्वयनसम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार आयोजित कार्यक्रममा बीमाको आवश्यकता, कृषि तथा पशुपन्छी बीमा, बीमा दाबी प्रक्रिया, बीमितको अधिकार तथा बीमा सेवाको प्रभावकारी कार्यान्वयनलगायत विषयमा छलफल गरिएको थियो ।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेले बीमालाई स्थानीय नागरिकको आर्थिक सुरक्षा र जोखिम न्यूनीकरणको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्ने बताए । उनले गाउँपालिकाका भवन, सवारीसाधन तथा अन्य सम्पत्तिको बीमा गर्नुका साथै स्थानीय नागरिक, कृषक तथा पशुपालकलाई बीमाको दायरामा ल्याउन गाउँपालिकाले आवश्यक पहल र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद आचार्यले स्थानीय तहबाट बीमा कार्यक्रमको प्रवर्द्धन तथा कार्यान्वयनमा गर्न सकिने सहयोगका विषयमा धारणा राखे । गाउँपालिका उपाध्यक्ष प्रविना राईले विशेषगरी कृषि तथा पशुपन्छी बीमाको पहुँच विस्तार गर्दै ग्रामीण क्षेत्रका नागरिकसम्म बीमा सेवाको प्रभावकारी पहुँच पुर्‍याउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा सहभागीले उठाएका जिज्ञासा तथा प्रश्नको जवाफ दिँदै प्राधिकरणका कोशी प्रदेश कार्यालय प्रमुख महर्जनले माइजोगमाई गाउँपालिकासँग समन्वय गरी गाउँपालिकाका सम्पत्ति, कर्मचारी तथा स्थानीय नागरिकको दुर्घटना बीमालगायत कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए । उनले स्थानीय तहलाई क्रमशः ‘बीमामय’ बनाउँदै बीमाको पहुँच विस्तार गर्न प्राधिकरणले स्थानीय स्तरमै सचेतना कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

कार्यक्रमले स्थानीय तहमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै कृषि तथा पशुपन्छी बीमाको पहुँच विस्तार, बीमा दाबी प्रक्रियामा सहजीकरण तथा स्थानीय सरकार र बीमा क्षेत्रबीचको समन्वय सुदृढ गर्न योगदान पुर्‍याउने सहभागीहरूले बताएका छन् ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि तथा कर्मचारी, कृषक, सहकारीकर्मी, स्थानीय उद्यमी र विभिन्न सरोकारवालाको सहभागिता थियो। कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयकी सहायक निर्देशक सविता झाले गरेकी थिइन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै