काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आगामी चैत २६ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले हकप्रद शेयर जारी गर्न लागेको हो ।
हकप्रदको विवरण र अनुपात:
अनुपात: १०:१ (१०० कित्ता बराबर नयाँ १० कित्ता)।
शेयर सङ्ख्या: २३ लाख १० हजार कित्ता (प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य)।
कुल रकम: २३ करोड १० लाख रुपैयाँ ।
आवेदन दिने समय र योग्यता:
हकप्रद शेयर निष्कासन प्रयोजनका लागि इन्स्योरेन्सले फागुन १७ गते ‘बुक क्लोज’ गरिसकेको छ । यसअनुसार फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र यो हकप्रदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले आगामी २०८३ वैशाख १६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
रेटिङ र वित्तीय अवस्था:
इक्रा नेपालले यो हकप्रद निष्कासनका लागि इन्स्योरेन्सलाई ‘इक्राएनपी इस्यूअर रेटिङ ट्रिपल बी’ (ICRANP-IR BBB) प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम स्तरमा सुरक्षित रहेको सङ्केत गर्दछ ।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ ।
आवेदन दिने प्रक्रिया:
शेयरधनीहरूले बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयहरू वा सी-आस्वा (C-ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन् । साथै, सिडिएस एण्ड क्लियरिङको ‘मेरो शेयर’ अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।