काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय (डिजिटल) प्रणालीमार्फत गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक परिपत्र जारी गर्दै भुक्तानी प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन यस्तो निर्देशन दिएको हो ।
सबै सरोकारवालालाई निर्देशन प्राधिकरणको यो निर्देशन जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा, पुनर्बीमा कम्पनी र बीमा दलाल (ब्रोकर) हरूका लागि अनिवार्य गरिएको छ। अबदेखि बीमकले जुनसुकै प्रकारको भुक्तानी गर्दा सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा सिधै जम्मा हुने गरी विद्युतीय माध्यमबाट मात्र गर्नुपर्नेछ ।
निर्णयको कानुनी आधार ‘सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन, २०८२’ मा दाबी भुक्तानी गर्दा अनिवार्य रूपमा बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था छ । साथै, नेपाल सरकारले सार्वजनिक निकायबाट हुने सबै भुक्तानी बैंकिङ प्रणालीमार्फत डिजिटल माध्यमबाट गर्ने नीति कार्यान्वयनमा ल्याइसकेको सन्दर्भमा प्राधिकरणले यो कदम चालेको हो ।
यसअघि प्राधिकरणले बीमा कम्पनीका स्थायी, अस्थायी, करार वा ज्यालादारी सबै प्रकारका कर्मचारी तथा श्रमिकहरूको पारिश्रमिक र ज्याला पनि बैंक खातामार्फत नै भुक्तानी गर्न निर्देशन दिइसकेको छ।
डिजिटल भुक्तानीका फाइदा:
पारदर्शिता: भुक्तानी प्रक्रियामा हुने अनियमितता कम हुने ।
सम्पत्ति शुद्धीकरण निवारण: नगद कारोबार घट्दा अवैध धनको ओसारपसारमा नियन्त्रण पुग्ने ।
छिटो र छरितो: लगानीकर्ता र बीमितले आफ्नो रकम समयमै र सुरक्षित रूपमा प्राप्त गर्ने ।