काठमाडौँ । नेपाल बीमा प्राधिकरणद्वारा शनिबार प्राधिकरण को केन्द्रीय कार्यालय, कुपण्डोलमा विद्यालय तहको पाठ्यपुस्तकमा बीमा शिक्षा सम्बन्धी विषयवस्तु समावेश गर्ने सम्बन्धमा सरोकारवाला निकायहरूबीच छलफल भएको छ ।
नेपाल बीमा प्राधिकरणले शनिबार कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शैक्षिक गुणस्तर परीक्षण केन्द्र र सामाजिक अध्ययन विषयका विषय समितिका पदाधिकारीहरू, विषय विज्ञहरू तथा लेखकहरूसँग यस विषयमा अन्तरक्रिया एवम् छलफल कार्यक्रम आयोजना गरेको हो ।
विशेष गरी विद्यालय तहको अनिवार्य विषय ‘सामाजिक अध्ययन’ को पाठ्यपुस्तक परिमार्जन तथा पुनर्लेखनका क्रममा बीमा शिक्षालाई समेट्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सामाजिक विषय अन्तर्गत कक्षा ४ देखि १२ का प्रस्तावित पाठ्यक्रममा बीमा शिक्षा सम्बन्धी सम्भावित विषयवस्तुहरूमाथि विस्तृत छलफल भएको थियो ।
२०८४ देखि नयाँ पाठ्यक्रम
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले केन्द्रले विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्न लागेको जानकारी दिँदै बीमा शिक्षालाई सन्तुलित रूपमा समावेश गरिने बताए । परिमार्जित पाठ्यक्रम सबै प्रक्रिया पूरा गरी आगामी २०८४ सालको शैक्षिक सत्रदेखि देशभर लागू हुने उनले जानकारी दिए । “विद्यार्थीले बीमाका बारेमा बुझ्न र अरूलाई पनि बुझाउन सकून् भन्ने हाम्रो उद्देश्य हो,” महानिर्देशक पौडेलले भने ।
बीमाले मानव जीवन र सम्पत्तिको वित्तीय सुरक्षण गर्छ
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले विद्यालय तहदेखि नै बीमाको आवश्यकता र महत्त्वबारे जानकारी दिनु आवश्यक रहेको बताए । “बीमाले मानव जीवन र सम्पत्तिको वित्तीय सुरक्षण गर्छ । सानै उमेरमा यसको जानकारी भएमा बीमाको दायरा बढ्छ, लागत घट्छ र समग्र आर्थिक विकासमा टेवा पुग्छ,” अध्यक्ष शर्माले उल्लेख गरे ।
त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक एवं सामाजिक अध्ययन विषय समितिका अध्यक्ष प्रा.डा. रामकृष्ण तिवारीले पाठ्यपुस्तक लेखन र प्रश्नपत्र तयारीका क्रममा बीमाका विषयवस्तुलाई उचित स्थान दिन विज्ञ तथा लेखकहरूलाई आग्रह गरे ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले विद्यालय तहको सामाजिक अध्ययन विषयका प्रस्तावित पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिकामा समावेश गर्न सकिने बीमा शिक्षा सम्बन्धी विषयवस्तु पहिचान गरी सुझावसहित पाठ्यक्रम विकास केन्द्रलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा कक्षा ४ देखि १२ सम्मको पाठ्यक्रममा बीमा शिक्षाका सम्भावित विषयवस्तुमाथि छलफल भएको थियो। कार्यक्रममा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले बीमा शिक्षासम्बन्धी प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शैक्षिक गुणस्तर परीक्षण केन्द्र र सामाजिक अध्ययन विषय समितिका पदाधिकारीहरू, विज्ञ तथा लेखकहरू र नेपाल बीमा प्राधिकरणका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।