काठमाडौँ । काठमाडौं- चालु आर्थिक वर्षको पाँच महिनामा ३७ हजार १४९ बीमितले बीमा पोलिसी सरेण्डर गरेका छन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा ५ अर्ब ६९ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको हो ।
गत वर्ष सोही अवधिमा ४५ हजार ६० जना बीमितले ६ अर्ब ७२ करोड १० लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर गरेका थिए। यसको तुलनामा यस वर्षको सो अवधिममा सरेण्डरको संख्या १७ प्रतिशतले घटेको छ ।
बीमा प्राधिकरणको नियामावलीअनुसार, बीमितहरूले कम्तीमा तीन वर्षसम्म निरन्तर प्रिमियम बुझाइसकेपछि मात्र बीमा पोलिसी सरेण्डर गर्न पाउने व्यवस्था छ । यस अर्थमा, बीमा पोलिसी खरीद गरी तोकिएको अवधि पूरा नगरी त्याग गर्नु नै बीमा सरेण्डरको श्रेणीमा पर्छ ।
बीमितहरूले बीमा खरीद गरेपछि समय–समयमा बीमा प्रिमियम बुझाउनुपर्ने हुन्छ । बिकीतले प्रिमियम बुझाउन छोड्दा वा रकम फिर्ता लिन आग्रह गर्दा बीमा पोलिसी सरेण्डर हुने गर्दछ ।