
काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स कम्पनीले हिमालयन बैंकको संस्थापक सेयर खरिद गर्ने भएको छ। बैंकमा रहेको पाकिस्तानी हबिब बैंकको स्वामित्वमा रहेको सेयर हिमालयन रिले खरिद गर्न लागेको हो।
कम्पनीको वार्षिक साधारण सभामा लगानी विविधीकरणबारे उठेका प्रश्नहरूको जवाफ दिँदै अध्यक्ष शेखर गोल्छाले सेयरधनीहरूलाई यसबारे जानकारी गराएका हुन् । बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर निरन्तर घटिरहेको अवस्थामा लगानीको प्रतिफल बढाउन तथा लगानी विविधीकरण गर्ने उद्देश्यले हबिब बैंकको सेयर खरिद प्रक्रिया सुरु गरिएको र यो सम्पन्न हुने क्रममा रहेको अध्यक्ष गोल्छाले बताए ।
हाल बीमा कम्पनीहरूको लगानी धेरैजसो निक्षेपमा केन्द्रित रहेकोले ब्याजदर घट्दा नाफामा असर परेको लगानीकर्ताहरूको बुझाइ छ ।
हिमालयन रिले बैंकको संस्थापक सेयर प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसाका दरले किन्न लागेको हो । हिमालयन बैंकमा हबिब बैंकको १२.९३ प्रतिशत स्वामित्व रहेको छ ।
यसैगरी, कम्पनीले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव नेपाल बीमा प्राधिकरणमा पुनः पेस गरेको जानकारी गराइएको छ। प्राधिकरणबाट स्वीकृति प्राप्त हुनासाथ हकप्रद सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाइने साधारणसभामा बताइएको छ। प्राधिकरणबाट स्वीकृति पाएपछि मात्र यो प्रस्ताव साधारणसभामा पेस हुनेछ ।