काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले समग्र बीमा क्षेत्रको सहजताका लागि सूचना प्रविधिको प्रयोग बढाउन र सही रूपमा तथ्याङ्क व्यवस्थापन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन्।
आज ललितपुरमा बीमकहरूसँग आयोजित ‘बीमा क्षेत्रमा सूचना प्रविधिको प्रयोग तथा तथ्याङ्क व्यवस्थापन’ सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले लागत बढे पनि बीमा उद्योगको विकासका लागि सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेकोमा जोड दिए ।
तथ्याङ्क भण्डारण क्षमता विकासमा जोड
अध्यक्ष ओझाले बीमा क्षेत्रका लागि कस्ता तथ्याङ्क आवश्यक छन्, कस्ता छैनन् र कस्ता दीर्घकालसम्म आवश्यक पर्छन् भन्ने स्क्रिनिङ गर्नुपर्ने बताए । सोही अनुसार तथ्याङ्क भण्डारण गर्नुपर्ने र दीर्घकालसम्म आवश्यक पर्ने तथ्याङ्क भण्डारण गर्ने क्षमता विकास गर्नुपर्ने उनको भनाइ थियो । यसका लागि प्राधिकरणले पनि आवश्यक व्यवस्था गर्ने र बीमकहरूले पनि उपयुक्त व्यवस्था गर्नुपर्ने उनले औंल्याए।
समयमै सही तथ्याङ्कको महत्त्व
ओझाले कानुन बमोजिम समयमै वित्तीय विवरण र तथ्याङ्कहरू प्राधिकरणमा बुझाउन बीमकहरूलाई निर्देशन दिए। उनले भने, “समयमै प्राप्त हुने सही तथ्याङ्कबाट निर्णय प्रक्रियामा समेत सहयोग पुग्छ, बीमा व्यवसाय अभिवृद्धि हुने गरी तथ्याङ्क सदुपयोग गर्नुपर्छ, सूचना प्रविधि र तथ्याङ्क व्यवस्थापन सम्बन्धी बीमा कम्पनीका गुनासालाई सम्बोधन गर्न प्राधिकरण सधैं तत्पर छ ।”
अध्यक्ष ओझाले बीमा कम्पनीले सार्वजनिक गर्ने, प्राधिकरणमा पेस गर्ने र अन्तिम प्रकाशन हुने तथ्याङ्क फरक फरक नहुने गरी यथार्थपरक रूपमा सही तथ्याङ्क तयार एवम् परिमार्जन गरी अन्तिम रूप दिन समेत निर्देशन दिए। यसले तथ्याङ्कको विश्वसनीयता बढाउनुका साथै नियामक निकायलाई सही निर्णय लिन मद्दत पुग्नेछ ।