
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७औँ वार्षिक साधारण सभाले संस्थापक र सर्वसाधारण समूहबाट गरी पाँच जना सञ्चालकलाई निर्विरोध निर्वाचित गरेको छ।
सभाले संस्थापक समूहबाट कुशल मल्ली, पवन बहादुर पाण्डे र प्रेमा राज्य लक्ष्मी सिंहलाई निर्विरोध निर्वाचित गरेको हो। निर्वाचित सञ्चालकहरूमध्ये प्रेमा राज्य लक्ष्मी सिंह हाल कम्पनी सञ्चालक समितिकी अध्यक्ष हुन्। उनको नेतृत्वमा नेशनल लाइफले उल्लेखनीय प्रगति हासिल गरेको कम्पनीले जनाएको छ।
त्यसैगरी, साधारण सभाले सर्वसाधारण समूहबाट भवानी राणा र कुलदीप शरण सिंहलाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ। हालको समितिमा पनि सञ्चालकको भूमिकामा रहेर उनीहरूले कम्पनीको प्रगतिमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
सभाले संस्थापक समूह ‘क वर्ग’ बाट तीन जना र सर्वसाधारण लगानीकर्ता ‘समूह ख’ बाट दुई जना सञ्चालकको निर्वाचन प्रस्ताव बमोजिम कुल पाँच जनालाई निर्विरोध निर्वाचित गरेको हो।