रिलायबल नेपाल लाइफको साधारण सभा सम्पन्न: १२% बोनस सेयरसहित सबै प्रस्ताव पारित

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आठौँ वार्षिक साधारणसभा सोमबार काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा सफलतापूर्वक सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले सेयरधनीहरूका लागि महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ । सभाले हाल कायम रहेको ४ अर्ब ६४ करोड रुपैयाँको चुक्ता पुँजीमा १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्तावलाई अनुमोदन गरेको हो ।

यसका अतिरिक्त, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरेको छ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याएको छ ।

बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ पुग्ने भएको छ। सोहीबमोजिम गर्न तथा नियमनकारी निकायबाट निर्देशन भएमा वा आवश्यक परेमा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभाले पारित गरेको छ। सभामा १५ जनाभन्दा बढी सेयरधनीहरूले आफ्ना भनाइ राखेका थिए ।

सभामा सेयरधनीहरूले उठाएका प्रश्नहरूको जवाफ अध्यक्ष श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण बाबु लोहनीले दिएका थिए। सभामा बोल्ने अधिकांश सेयरधनीहरूले कम्पनीले दिने प्रतिफललाई आगामी आर्थिक वर्षहरूमा पनि निरन्तरता दिन आग्रह गरेका थिए ।

अध्यक्ष श्रेष्ठले यस आर्थिक वर्षमा पनि सेयरधनीहरूलाई उचित प्रतिफल दिने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीका सम्पूर्ण कर्मचारी र सेयरधनीहरूलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै