दाबी भुक्तानी समयमै गर्न सञ्चालक समितिलाई प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको आयोजनामा निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा अन्तक्र्रिया कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ।

बीमा उद्योगको वर्तमान अवस्था, दाबी भुक्तानी, लगानीका क्षेत्र, डिजिटल रूपान्तरण, संस्थागत सुशासन, वित्तीय पारदर्शिता, बीमा शिक्षा र सेवा प्रवाहलगायत विषयमा राय संकलन तथा छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीहरूलाई वित्तीय रूपमा सबल बनाउने, मुनाफा सुनिश्चित गर्ने तथा बीमितको हित संरक्षण गर्ने विषयमा सञ्चालक समितिले गम्भीरतापूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

“बीमा कम्पनीहरू सबल हुन बाध्यकारी बीमाको दायराबाट बाहिर निस्कनु आवश्यक छ,” अध्यक्ष ओझाले भने, “बीमा ऐन र नियमावलीको जिम्मेवारीपूर्वक पालना गर्नुका साथै दीर्घकालीन र नीतिगत विषयमा सञ्चालक समिति जानकार हुनुपर्छ । प्राधिकरण सुक्ष्म व्यवस्थापन गर्न चाहँदैन, त्यसको अवस्था आउन नदिन सञ्चालक समितिले व्यवस्थापनलाई उत्तरदायी बनाउनुपर्छ ।”

दाबी फछ्र्यौट प्रक्रियालाई प्रभावकारी बनाउन कम्पनीका प्रदेश कार्यालयहरूलाई अधिकारसहित सशक्त बनाउने आवश्यकता औँल्याउँदै अध्यक्ष ओझाले बीमाप्रतिको विश्वास बढाउन समयमै दाबी भुक्तानी सुनिश्चित गर्न निर्देशन दिए ।

बीमा क्षेत्रको विस्तार र बीमाको पहुँच लक्षित समूहसम्म पुर्‍याउन प्राधिकरणले नियामक र सहयोगी दुवै भूमिका निर्वाह गर्दै आएको अध्यक्ष ओझाको भनाइ थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको सुधार तथा सुव्यवस्थित विकासमा प्राधिकरण निरन्तर लागिपरेको बताउँदै बीमितको हित सुनिश्चित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा प्राधिकरणका उपनिर्देशक हृदयश्वर पण्डितले संस्थागत सुशासनमा सञ्चालक समितिको भूमिका र उपनिर्देशक विरोध वाग्लेले लेखापरीक्षण तथा वित्तीय विवरण व्यवस्थापनमा समितिको भूमिकासम्बन्धी छुट्टाछुट्टै प्रस्तुति दिएका थिए ।

कार्यक्रममा निर्जीवन बीमा, लघुबीमा तथा पुनर्बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै