इटहरी । नेपालको होटल विकास तथा लगानी क्षेत्रको अग्रणी कम्पनी ग्रान्ड सेन्ट्रल होटल प्राइभेट लिमिटेडले इटहरीमा ‘रमादा बाइ विन्धम इटहरी पशुपति मार्ग’ सञ्चालनमा ल्याएको घोषणा गरेको छ । योसँगै पूर्वी नेपालको उदाउँदो व्यापारिक केन्द्र इटहरीमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटी सेवा भित्रिएको छ ।
युवा उद्यमी देशबन्धु बस्नेतको स्वामित्वमा रहेको यो होटल विश्वकै ठूलो होटल फ्रेन्चाइजिङ कम्पनी विन्धम होटल्स एण्ड रिसोर्ट्ससँगको सहकार्यमा निर्माण गरिएको हो ।
होटलका मुख्य आकर्षण र सुविधाहरू:
अतिथि कक्ष: ८१ वटा आधुनिक र पूर्ण सुसज्जित कोठाहरू ।
खानपान: दिनभर सञ्चालन हुने अत्याधुनिक रेष्टुरेन्ट, बार र लाउञ्ज ।
स्वस्थ्य र मनोरञ्जन: हेल्थ क्लब, स्पा र सुविधासम्पन्न आउटडोर स्विमिङ पुल ।
कर्पोरेट सुविधा: ठूला सम्मेलन, बैठक र सामाजिक उत्सवका लागि विशाल ब्याङ्क्वेट हल र मिटिङ रुमहरू।
ग्रान्ड सेन्ट्रल होटलका सञ्चालक देशबन्धु बस्नेतले भने, “इटहरी तीव्र गतिमा विकास भइरहेको व्यापारिक र ट्रान्जिट केन्द्र हो । यहाँ गुणस्तरीय होटलको ठूलो माग थियो। विन्धमसँगको सहकार्यले स्वदेशी र विदेशी यात्रुहरूलाई अन्तर्राष्ट्रिय मापदण्डको अनुभव प्रदान गर्नेछ ।”
त्यस्तै, विन्धम होटल्सका मार्केट म्यानेजिङ डाइरेक्टर राहुल माकारियसले इटहरीलाई दक्षिण एसियाकै तीव्र विकास भइरहेको सहरका रूपमा चित्रण गर्दै रमादा ब्रान्डमार्फत सेवा दिन पाउँदा खुसी व्यक्त गरे ।
यस होटलमा बस्ने अतिथिहरूले विश्वकै ठूलो होटल लोयल्टी कार्यक्रम ‘विन्धम रिवार्ड्स’ का सुविधाहरू प्राप्त गर्नेछन् । यस कार्यक्रममा विश्वभर १२ करोड २० लाखभन्दा बढी सदस्य आबद्ध छन्, जसले विभिन्न होटल र रिसोर्टहरूमा ‘पोइन्ट्स’ प्रयोग गर्ने सुविधा पाउँछन् ।